
सुमित्रा न्यौपाने
टेबुलमाथि कलात्मक भाँडाहरु सजिएका थिए । भाँडाभित्र खानपिनका परिकारहरु टम्म भरेर राखिएको थियोे । सिंगारिएकाे घरमा पाहुनाहरुकाे आवतजावत बाक्लो हुन थाल्यो । स्वागत सत्कारमा खटिएका लाहुरे बा निकै हर्षित मुद्रामा देखिन्थे । हिजो मात्र एसइइ काे नतिजा आएको थियोे । छाेराले निकै राम्रो नतिजा ल्याएकाेले भाेजकाे आयोजना गरिएको होला भन्ने अड्कल थियोे सबैको । उपस्थित भएका मानिसहरुले हात मिलाएर लाहुरेलाई बधाई दिदै थिएँ । खै त छाेरा ? मुख्य बधाईकाे हकदार त उहीँ हो नि । उसैलाई बधाई दिनु पर्याे । बाेलाउनुस् लाहुरेसाब । छिमेकी रमनले मुख खाेले । पर्खनुस् न । आउला नि, मुसुक्क हाँस्दै लाहुरेले जवाफ फर्काए ।
पाहुनाहरु कुर्सीमा लहरै बसे । छाेरालाई बाेलाए लाहुरेले । छाेराकाे शिर निहुरिएकाे थियोे । उसकाे अनुहार मलिन देखिन्थ्योे । आँशुले आँखा भिजेका थिए । लाहुरेले हात समाते छाेराकाे । सबैतिर हेर्दै भने । हिजोदेखि यो निकै चिन्तित छ । खाना खाएको पनि छैन । मात्र राेइरहन्छ । मैले निकै सम्झाइसकें । अब तपाईंहरुकाे अगाडि उभ्याएको छु । यसलाई तपाईंहरु सबैको आशिर्वादकाे खाँचो छ । उसले छवटा बिषय पास गरेको छ त्यो पनि राम्रो नम्बर लिएर । गणितमा मात्र नम्बर पुगेन । उसलाई छवटा विषय पास गरेकोमा बधाई र एउटा बिषयकाे परीक्षा राम्रो गर्ने आशिर्वाद दिनुस् । सबैलाई लाहुरेकाे कुरा मनासिब लाग्यो । सबैले तालि बजाएर छाेरालाई एकैपटक आशिर्वाद दिए । उसमा चेतना, हाैसला र सकारात्मक उर्जाकाे बिजाराेपण भयो ।





