बालबालिकाको राम्रो बानी र अभिभावकको दायित्व


रमा अर्याल पन्थी
भाषा आयोगका उपसचिव

बालबालिका देशका कर्णधार हुन् । जन्म दिने आमा बुवाको भरोसाको केन्द्रबिन्दु हुन् । जब त्यो वालक राम्रो शिक्षा, अनुशासित, असल बोली व्यवहार, सहयोगी भावको हुन्छ आफन्त र समाजको लागि समेत गर्भ र खुसीको विषय हुन जान्छ।
आफ्नो सन्तानलाई असल र राम्रो बनाउन सबै अभिभावकलाई इच्छा हुन्छ । ठूलो भएपछि घर समाजको इज्जत राख्छ, हामीलाई बुढेसकालमा ख्याल गर्छ भन्ने आशा पनि राखिन्छ । त्यसको निम्ति आफ्नो आर्थिक, सामाजिक क्षमता र चलन अनुसार राम्रो शिक्षा संस्कार चालचलन सिप कला आदि सिकाउनुपर्ने हुन्छ।
कतिपय अभिभावकले यो कुराहरू विचार गरेर बाल्यकालदेखि नै सिकाउदै जाने गरेको पाइन्छ भने धेरैजसोले समय आएपछि आफै सिकिहाल्छ नि भनेको पाइएको छ । तर साना बालबालिका कोरा कागज हुन् । कोरा कागजमा जे लेखे पनि हुन्छ तर लेखिसकेपछि मेटेर फेरी उस्तै तरिकाले लेख्न सकिन्न, राम्रो देखिन्न । बालबालिका पनि त्यस्तै हुन् ठूलो भएपछि बानी सुधार गर्न धेरै गाह्रो पर्छ अथवा सुधार गर्नै सकिदैन।
बालबालिकाले आफू सानो हुँदानै आमा बुवा दाइ दिदी आदिबाट राम्रो र नराम्रो बानी व्यवहार सिकीरहेका हुन्छन् । आमा बुवाले जे सिकायो त्यही सिक्छन् । आमा बुवाले सानैदेखि केही राम्रा र व्यवहारिक कुराहरू सिकुन भन्ने चाहने हो भने बालबालिकाको सफल भविष्य र व्यवहारिक जीवनमा सहजता आउनेछ। जुन यस प्रकार उल्लेख गर्न सकिन्छ।


क) घर : घर बालबालिकाको पहिलो स्कुल हो भने आमा उसको पहिलो गुरु (शिक्षक) मानिएको छ । घरबाटै पहिलो खाना, पहिलो बोली, पहिलो सँगत, पहिलो पाइला सुरु हुन्छ।
अलिकति समाजीकरणका लागि सानैदेखि सबैलाई नमस्कार अभिवादन गर्न, घरमा आएका पाहुनासँग बोल्न, आफ्ना कुरा राख्न र सामान्य सत्कारका कामहरू सिकाउन जरुरी हुन्छ । अहिलेका बालबालिका घरमा कोही नयाँ मान्छे आएमा भित्र जाने र मोबाइल चलाएर वस्ने गर्दछन्।
आमा बुवाले खाना खाने तरीकामा खाना खानु अघि हात धुने, बसेर खान, चपाएर हतार नगरी खान, ठिक समयमा ठिक खाना खान, खाना खादा टिभी मोबाइल नहेर्न बानी लगाउन सकिन्छ । खाना खाएपछि आफ्नो थाल धुने, आफूले खाएको जुठो टिप्ने र हात धुने कुरा सिकाउन सकिन्छ।
भान्सामा आफूसँग एकछिन राखेर पहिला तरकारी पखालेको काटेको हेर्न लगाउने, पछि विस्तारै काटन लगाउने र खाने कुरा आफै पकाउन समेत लगाउन सकिन्छ।
सुत्ने कोठामा आफूसँग बिस्तारा, सिरानी, कुशन मिलाउन लगाउने । उसका कापी कलम किताब मिलाएर राख्न सिकाउने पछि आफै गर्न लगाउने गर्न सकिन्छ । सुत्ने र उठ्ने समय एकनास हुनुपर्छ, बेलुका छिटो सुत्ने र बिहान सबेरै उठ्ने कुरा सिकाउने । यसो गर्दा बालबालिकाको दिमाग दिनभर ताजा हुन्छ । यो प्रयास वैज्ञानिक र आध्यात्मिक दुवै दृष्टिकोणबाट राम्रो मानिन्छ।
बाथरुम गएपछि साबुन पानीले हात धुने, ट्वाईलेट प्रयोग गरेपछि पानी राख्ने वा फ्लस गर्ने र बाथरुम सधैँ सफा राख्न सिकाउन सकिन्छ।
स्कुल जानेबेला भएपछि किताब कापी कलम÷पेन्सिल कलर पानी नास्ता आदि आफै मिलाएर झोलामा राख्न,आफ्नो लुगा आफै खोलेर लगाउन, मोजा लगाउन, टाँक आफै लगाउन सिकाउनु पर्छ । बालबालिकाले टाँक आफै लगाउँदा औलाको कसरत भइ परिपक्व समेत हुन्छन्।
साना बालबालिकालाई सकेसम्म नजिकको स्कुलमा पढाउनु पर्छ । उमेर सानो, कक्षा पनि सानो, स्कुल पनि सानो किन नहोस तर नजिक हुँदा जानआउँन समय बढी लाग्दैन । बालबालिकाको हेरचाह बढी हुन्छ त्यस्तै स्कुलले बालबालिका र अभिभावकको कुरा सुन्न सक्छ।
त्यस्तै साना बालबालिका जो ३/४ वर्षका छन् उनीहरूलाई धेरै पढाइ लेखाइमा घोटाउनु पनि हुँदैन । बालबालिकाका हात, औलाका मांसपेशी परिपक्व भएका हुदैनन् । पढाइ लेखाइमा लगाउँदा मानसिक दबाब हुन जान्छ फलस्वरूप स्कुल जान मन गर्दैनन्।
यो उमेरमा खेलको माध्यम, गीतको माध्यम, कथाको माध्यम, जनावर, बोटबिरुवा, फूल, चराचुरुङ्गी, खेलौनाहरू आदि माध्यमबाट सिकाउनु पर्छ । बालबालिकाले काम गरेर, छोएर , खेलेर, हेरेर, सिक्ने वातावरण सिर्जना गर्नु राम्रो मानिन्छ । लेख्न लगाउने र घोक्न कण्ठ गर्न लगाउनु राम्रो होइन । स्कुल गएपछि छिटो छिटो धेरै लेख्न र पढ्न जान्ने हुन्छ भन्ने आकाङ्क्षा अभिभावकले नराख्दा हुन्छ । विस्तारै उमेर र कक्षा चढ्दै गएपछि सिक्दै जान्छन्।
१) मेहनत गर्न सिकाउने : मेहनत नगरी केही कुरा पाइदैन भन्ने कुरा सिकाउनु जरुरी छ । कसैले बच्चालाई धेरै सुकुमार राख्न रुचाउँछन् जसले गर्दा बालबालिकालाई पछि ठूलो हुँदा सानो सानो समस्या पर्दा पनि सामना गर्न नसकेर आत्तिने र डराउने हुन्छन् । आफू पनि मेहनत गर्ने र बालबालिकालाई पनि मेहनत गर्न सिकाउनु जरुरी छ। अन्यथा अभिभावक नै मेहनत गर्दैनन चोरी, लुट, ठगी गरेर कमाइ गरेको छ भने सम्झनुहोस उसका सन्तानले ढिलोचाँडो त्यही बाटो रोज्न सक्छन् अथवा सज्जन भईहालेमा आमा बुवा प्रति तिरस्कारको भाव राख्न सक्छन् ।
२) किताब पढ्ने बानी बसाल्ने : आफूभन्दा ठूलाले गरेको काम देखेर बालबालिकाले सिक्ने गर्दछन् । किताब पढ्ने बानी बसाल्नु छ भने सुरु आफैबाट गरौँ । उनीहरूका अगाडि आफू पढ्न वस्ने, आफ्नो पढ्ने बानी बसाल्ने हो भने उनीहरूको पनि पढ्ने बानी वस्छ।
३) समयको महत्व अनुभव गराउने : समय बलवान् छ र निरन्तर छ । यसलाई देख्न छुन र संचय गर्न सकिदैन । कुनै पनि काम समयमा गर्न सकिएन भने ठूलो क्षति र पश्चात्ताप समेत हुन सक्छ । त्यसैले सानैदेखि ठिक समयमा ठिक काम गर्न सिकाउनुपर्छ । राम्रो काममा समय खर्च गर्ने र नराम्रो काममा समय खर्च गर्नु हुन्न । नचाहिने फाल्टु गफ गर्ने, कसैको नचाहिने कुरा काट्ने, बढी बोल्ने, धेरै खेल्ने, बिहान अवेरसम्म सुत्ने आदि काम गर्नै हुँदैन, त्यो गर्नुभन्दा कुनै सृजनशील काम गर्न धेरै उत्तम हुन्छ भनि सिकाउनु पर्छ।
४) शारीरिक व्यायाम : बालबालिकालाई खेल आवश्यक हुन्छ । स्वभावैले वालवालिका सक्रिय हुन्छन र हुनु पनि पर्छ ।एक ठाउँमा धेरै वसिरहन केहिकुरा धेरैवेर सुनिरहन सक्दैनन् । खेल घरभित्र र घरवाहिर गरेर खेल्न सकिन्छ । उचित समयमा खेलिएका खेलवाट वालवालिकामा एक अर्कोमा सहयोगको भावना, समूहगत भावना, विवेकशील, समन्वयात्मक भावना, त्यागको भावना, जस्ता मानवीय गुणहरु विकास हुँदै जान्छन् र शारिरीक रुपमा वलियो पनि हुँदै जान्छन।
५) योग ध्यान : योग ध्यान पनि स्वास्थ्यका लागि राम्रो मानिएको छ । योग भनेको जोड हो । शरीरसँग मन भावना जोडनु आवश्यक छ । मानिसको मन एकैछिनमा कहाँ कहाँ पुगिरहन्छ । मनलाई आफ्नो बसमा राख्न योग ध्यानको आवश्यकता हुने कुरा सबैले स्वीकारेका छन् । बालबालिकालाई पनि सानैदेखि १÷२ मिनेट वाट मात्र भए पनि सुरु गरेर बानी बसाल्न सकिन्छ । मौन र स्थिर वस्न सकेमा धमिलो भएको मन सङ्लो हुदै आउँछ । अर्थात् मनको अशान्ति, चिन्ता कम हुदै जाने कुराको विश्वास गरिएको छ।
६) प्रश्नोत्तर गर्ने : बालबालिका स्कुल जान थालेपछि अव उतै सबै कुराहरू सिक्छन् भनेर ढुक्क हुने अवस्था छैन । स्कुल ६ घण्टा मात्र वस्ने हो वाँकी १८ घण्टा त फेरी घरमा हुन्छन् । छोराछोरीले आज के पढे ? कति र के सिके? सर मेडमले कस्तो सिकाउनु हुन्छ ? आज को आएन ? गृहकार्य छ कि छैन ? छ भने कति गर्यौ ? के वाँकी छ ? मैले के सहयोग गरु तिमीलाई ? जस्ता भलाकुसारीबाट सुरु गर्न सकिन्छ र प्रत्युतरमा के आउँछ अनि सहयोग गर्न सकिन्छ।
७) हल्का डर देखाउने : बालबालिकालाई डर पनि देखाउनु पर्छ । अन्तरात्मामा त धेरै माया हुन्छ नै फेरी पनि केही डर भएन भने अटेरीपना बढ्दै जान्छ । स्कुलबाट आएपछि झोला चेकजाँच गर्ने, साथीसंगत कस्तो छ वुझ्ने, सँगत गतिलो भएन भने छिटो कुलतमा,घातक आकांक्षामा लाग्ने, स्कूल नजाने, गएर पनि भाग्ने डर हुन सक्छ।
अभिभावकहरू बालबालिकालाई पछिसम्म खुसी, आनन्द, सुख, शान्ति र समवृद्धि रहिरहुन भन्ने चाहन्छन् । चाहना र आशीर्वादले मात्र नहुने भएकाले उचित शिक्षा, खानपान, स्वास्थ्य उपचार, स्याहार सुसार, पारिवारिक वातावरण सबै कुराको तालमेल मिलाउनु आवश्यक हुन्छ।

श्रोतःkhabareducation.com