
गंगा खड्का
बूढानीलकण्ठ,काठमाडौँ
गाउँघर घुमेर
बित्यो बाला उमेर
साथीसङ्गी साथैमा
दिन जान्थ्यो बातैमा।
वनपाखा भीरैमा
घुम्थ्यौँ नदी तिरैमा
मन हुन्थ्यो फुरुक्क
खेल्न थाल्थ्यौँ सुरुक्क।
न त पिर्थ्यो भोकले
न त मार्थ्यो शोकले
मन सधैँ पवित्र
हर कुरा विचित्र।
पिप्लमेट किनेर
दिनुहुँदा बाबाले
खाने गर्थेँ रमाई
मायाप्रीति जमाई।
खुसी हुँदै आमाले
जिस्काउने नामले
डाक्नुहुन्थ्यो मलाई
जादुटुना चलाई।
मने पनि मसँग
पर्दै अझै झन् दङ्ग
उफ्री आई टाँसिन्थ्यो
खुबसित हाँसिन्थ्यो।
श्रोतः नेपाली बालसाहित्य





