लामो आयु


रचना शर्मा
नारायणगढ चितवन

हरिया चुरा, मेहेन्दी अनि हरियै वस्त्रले सिंगारिएकी नवदुलहीले मुसुक्क पर्दै भनिन्, “ल चिया लिनुस् !” “ओहो ! आज त निकै राम्री देखिएकी छ्यौ नि ! मैले त आज पावरवाला चस्मा पनि लाउन नपर्ने भयो।” पत्नीले हाँस्तै भनिन्-
“साउनमा हरिया चुरा र मेहेन्दी लगाएपछि पतिको आयु बढ्छ रे क्या ! तपाईँको लामो आयुको कामना गरेर यी सृङ्गारहरू पहिरेकी हुँ !”
एकछिनपछि पतिले सामान सहितको एउटा गह्रुङ्गो झोला ल्याए र पत्नीको अगाडि राख्दै भने, “लौ तिम्रो लागि !”
“के हो यो ?”
“खोलेर हेर न!”
उनले झोला खोलिन् र आश्चर्य मान्दै सोधिन्, “ओहो! किन यत्ति धेरै थरीका फलफूल र सागसब्जी ल्याउनुभएको ?”
पत्नीलाई जवाफ दिँदै पतिले भने, “पत्नीले पतिको लामो आयुको कामना गर्न यति धेरै मिहिनेत गरेर सिंगारिन सक्छिन् भने पतिलाई पनि पत्नीको लामो आयुको चाहना हुन्न र ?”