“बाल्यकालका भिजेका मिठा सम्झना”

 

तोरण गुरूङ

बाल्यकाल… जीवनको त्यो स्वर्णिम समय हो, जहाँ न कुनै जिम्मेवारी थियो, न कुनै चिन्ता। बिहान आमाको मिठो आवाजले उठाउने, बुवाको हात समातेर स्कुल जाने, स्कुलबाट फर्केर नास्ता खाएर सिधा साथीसँग खेल्न जाने यही थियो दिनचर्या। त्यो बेला न मोबाइल थियो, न फेसबुक, न टेन्सन। केवल हाँसो थियो, रमाइलो थियो, र साँचो सन्तुष्टि थियो।
बाल्यकालमा एउटा चकलेटले पनि मनमा खुसी ल्याउँथ्यो। एउटा नयाँ कलम, नयाँ जुत्ता, नयाँ झोला—यी साना कुराले आकाश झैं ठूलो खुशी दिन्थ्यो। हाम्रा सपनाहरू साना थिए तर गहिरा थिए। स्कुलमा राम्ररी बोलेर ‘राम्रो बच्चा’ भन्ने प्रशंसा पाउँदा गर्व लाग्थ्यो। टीचरले “वाह!” भनेपछि आफूलाई हिरो जस्तो लाग्थ्यो।
गाउँमा हुर्किएका बालापन झन् विशेष हुन्छन्। बिहान चौतारोमा जुठो हातले मकै खाँदै साथीहरूलाई बोलाउने, गाईबस्तु चराउने, बेलुकाको साँझमा बारीमा “लुकामारी” खेल्ने, ढिकी जाँतोको ढुकढुकीसँगै आमाको गीत सुन्ने यी सबै जीवनभर मनमा अमिट बन्छन्। बारीको काँक्रो चोरी खानु, खेतमा दौडनु, खोलामा हिलो खेल्नु, गुच्चा हान्दा जितेर रमाउनु यी सबै अनुभूतिहरू पैसामा नकिनिने सम्पत्ति हुन्।
बाल्यकालका सम्बन्धहरू स्वार्थरहित हुन्थे। साथीहरूसँग झगडा पनि हुन्थ्यो, ५ मिनेटमै मिल्थ्यो। कसैको नाफा-नोक्सानको कुरा हुँदैनथ्यो। सबै कुरा खुलेर भन्न सकिन्थ्यो, खुलेर हाँस्न सकिन्थ्यो, खुलेर रून सकिन्थ्यो। मनको बोझ थिएन, अनुहारमा निष्कलंक मुस्कान थियो।
त्यो समय कल्पनाको संसार थियो। एउटा काठको टुक्रालाई कार सम्झिन्थ्यो, एउटा थोत्रो मोजालाई डल्लो टुक्रालाई बल बनाउँथ्यौं। कहिले साथीहरू सँग पाईप बोकेर बिहानै खोलातिर दौडिन्थ्यौं, खोलाको चिसो पानीमा जिउ भिजाउँदै पौडी खेल्थ्यौं, हाँसोले गुञ्जायमान हुन्थ्यो सारा वातावरण। माछा देखिने बित्तिकै सबै जनाले घेरेर समात्ने धपेडी चल्थ्यो। कहिले त पानीभित्र ढुंगा उठाएर तल लुकेका साना माछा खोज्ने र जोगाएर ल्याउने रमाइलो गर्थ्यौं। अनि कहिले माथिल्लो डाँडातिर लाग्थ्यौं, हातमा आँसी(हँसिया ), मनमा उत्साह। स्याउला, सोत्तार, र दाउरा काट्न हिँड्दा न त हावा, न त घामको डर हुन्थ्यो। झाडीभित्र पस्दा जुकाहरूले खुट्टा टोक्थे, रगत बग्थ्यो, तर त्यही रगतलाई पनि गर्वको निसानी मान्थ्यौं। दुखाइभन्दा ठूलो थियो त्यो साहसी साहस र साथीहरूसँग बिताएको अविस्मरणीय पल।
गोरु चराउन जाँदा बिहानै बारीको झ्यापी बाटो हुँदै डाँडापाखा उक्लिन्थ्यौं, लाठी काँधमा, झोला भित्रमा केही मकै वा मोही। साथीहरूसँग रमाउँदै गोरुलाई हरियो घाँस भएको ठाउँमा राखेर हामी हाम्रो रमाइलो थलो बनाउँथ्यौं। वरिपरि झाडीको रुख, स्याउलाले ढाकिएको धरती, र टाढा देखिने हिमालको फेद यही हुन्थ्यो हाम्रो सानो संसार।
झरी पर्ने आभास पाउनासाथ हामी दौडिन्थ्यौं पहिले बनाएको प्लास्टिकको सानो घरतिर। बोराको टुक्रा, प्लास्टिकको झिल्को र काँडाहरू मिलाएर बनाइएको त्यो झुप्रो नै हाम्रो अस्थायी दरबार हुन्थ्यो। भित्र पस्नासाथ बाहिर वर्षा खसिरहन्थ्यो, र हामी तीन-चार जना त्यहीँ खचाखच बसेर हात सुकाउँदै मकैको झोलाबाट तान्दै खान्थ्यौं।
कहिले त आगो बालेर त्यसै मकै पोल्ने चलन पनि हुन्थ्यो सस्तो रमाइलो, तर अनमोल अनुभव। बाहिर पानी पर्दै गर्थ्यो, भित्र हाम्रो हाँसो र बोलावाला गुञ्जिरहेको हुन्थ्यो। त्यो छोटो समयमा पनि सारा संसार भुल्न सकिन्थ्यो। जीवनका त्यस्ता साना-साना क्षणहरू नै आज सोच्दा सबैभन्दा अमूल्य लाग्छ न मोबाइल, न चिन्ता, न त दौडधुप—सिर्फ सादगी, मित्रता, र प्रकृतिको मिठास।
साँच्चै, त्यो बाल्यकालको गोरु चराउने बहानामा बस्ने त्यो झुप्रो र भिजेको मकैको स्वाद आजको ऐश्वर्यले पनि दिन सक्दैन।
साँच्चै, बाल्यकालको त्यो स्वतन्त्र जीवन आज सपनामै सीमित लाग्छ।
परीकथाका पात्रहरू साँच्चै हाम्रो साथी जस्तो लाग्थे। कहिले आकाशमा हेरेर चन्द्रमालाई साथी बनाउँथ्यौं, कहिले घाँसमा बसेर किराफट्यांग्रासँग संवाद गथ्र्यौं। हाम्रो संसार सानो थियो, तर आत्मा असीमित स्वतन्त्रताले भरिएको।
आज हामी ठूला भएका छौं, जिम्मेवारीले थिचिएका छौं, आम्दानीको पछि दौडिरहेका छौँ। तर त्यो सानो बेलाको आमाको अँगालो, बाबाको हातको छायाँ, र साथीहरूको त्यो निर्दोष साथ यी सबै चीजहरू अब लाखौँ खर्चेर पनि फर्काउँन सकिन्न। आज जुन कुरा हामी खोइरहेका छौं, त्यो बाल्यकालमा सजिलै पाउँथ्यौं साँचो माया, चित्त बुझ्ने खुसी, र सरल जीवन।त्यही भएर आज हामी भन्छौं “कति राम्रो थियो है त्यो बाल्यकाल।” त्यो समय अब फर्किन्न, तर हरेक स्मृतिमा मीठो बास्नाजस्तो बसेको छ। जीवनका सारा रंगहरू सुरु हुने त्यो निश्चल सुरुवात थियो बाल्यकाल। संसार देख्न थालेको पहिलो झ्याल हो त्यो, जुन आज पनि झुल्किन्छ धेरै सम्झनासँग, धेरै मिठाससँग।
साँचै, बाल्यकाल जीवनको त्यो स्वर्णिम गीत हो, जुन एकचोटि मात्रै गाइन्छ… र जीवनभर गुञ्जिरहन्छ।

श्रोतः fursadkobela