“बाल दिवस को सन्देश”


कृष्णशरण उपाध्याय पौडेल

छन्द : शार्दूलविक्रीडित

बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून् , ती देश का हुन् जग
बच्चा हृष्ट र पुष्ट सम्बल बनून् , हुन् भोलि का वैभव
हुन् आधार मियो र सुन्दर धुरी , जो जत्ति छन् बालक
हुन् यो देश निमित्त गौरव चुली , हुन् देश सञ्चालक।

खेल्दै पढ्नुछ आज निर्भय बनी , नाचेर गाएर ती
कुद्दै बढ्नुछ छन्द को लय बनी , मस्ती जमाएर ती
खाना स्वस्थ र पुष्टि बर्द्धक रहोस् , ती भोलि होऊन् दरा
नाना स्वच्छ र तुष्टि बर्द्धक रहोस् , बच्चा नहोऊन् बरा।

बच्चा छन् कति कामदार घर मा, छन् कारखाना मुनि
छन् कैयौं मजदूर झन् शहर का , पापिष्ट छाना मुनि
उस्तै छन् कति आज ती सडक मा , मागेर ढोग्नेहरू
मन्त्री सांसद का कठोर घर मा , छन् दु:ख भोग्नेहरू।

सामन्ती कर ले प्रताडित अझै , छन् बाल – बच्चाहरू
कैयौं पण्डित बाट दण्डित अझै , छन् बाल – बच्चाहरू
बच्चा को दिन सम्झिँदै दिवस यो , मानेर के हुन्छ र ?
यो आडम्बर मात्र हो दिवस को , मानेर के हुन्छ र ?

बच्चा का अधिकार शुद्ध मन ले , रक्षा गरौँ आज नै
बच्चा माथि कदापि निर्मम नहौँ , ढाकौँ स्वयम् लाज नै
बच्चा फुल्न र फल्न पर्छ जहिले , ऊ देश को हो धन
बच्चा का अधिकार या हकहरू , गर्नैछ संरक्षण।