बुद्धको देश

कमला भण्डारी ढकाल

हजुरबा बुद्धले शान्ति ल्याए भन्छन्, शान्ति कहाँ छन् ? मैले त पल्लो घरको बुद्ध दाइ एक्लै देखेँ । नातिको कुरा सुनेर हजुरबा अलमल पर्नु भो!
बाबु पल्लो घरको बुद्ध दाइको कुरा हैन। भगवान बुद्धको कुरा होनी !
“अस्तिनै हजुरले बुद्धं शरणमं गच्छामी भन्न सिकाउनु भएको थियो नि है ।” मैले सधैँ भन्छु उहाँको फोटो मूर्ति देखे भने।
“अनि नि हजुरबा भगवानहरु सधैँ नचलि चुपचाप बस्छन् कसरी ल्याउछन् शान्ति?”
हैन बाबु भगवानबुद्ध सयौँ वर्ष पहिला जन्मनु भएको हो उहाँले दिनु भएका अर्ति उपदेशहरु मान्ने अनुसरण गर्ने हो भने शान्ति घर घरमा, मन मनमा , देश, समाज र विश्वमा आउछिन् ।
तिमीले स्कुलमा देख्ने भेट्ने शान्ति दिदी हैन मनको शान्ति सुकुन हो,खुशी हो, आनन्द हो , प्रेम भक्ति हो।
यो कसरी मिल्छ हजुर बा ?
राम्रो काम गर्ने, सत्य सम्यक् बाटो हिड्यो भने शान्ति मिल्छ बाबु।
“बुद्ध त हाम्रो देशमा जन्मेका रे है हजुरबा।” हो ।
त्यसो भए टि.भी , मोबाइलमा किन काटेको , मारेको , दुःख दिएको, नराम्रो काम गरेको मात्र समाचार आएको होला ?
“बुद्ध जन्मेको देशमा हिटलरहरुको राज भएपछि यस्तै हो बाबु। “