
देवराज कार्की मिलन
मोरङ
एकदिन गाउँको कुकुर डुल्न भनेर सडकमा निस्कियो। कता जाने भनेर निकैबेर सोच्यो र मासु खान पाइन्छ कि भनेर नजिकैको जंगल तिर लाग्यो। निकैबेर हिडेपछि जंगल भित्र पस्यो। जंगलमा बाटो केही थिएन झाडी बुट्यान हुँदै घनघोर जंगल भित्र हरायो। बाटो हराए पछि कुकुर चारैतिर भौतारिदै हिड्न थाल्यो।
हिड्दा हिड्दै अलि पर आफू तिरै एउटा ठुलो बाघ आउँदै देख्यो। अब बाघले आफुलाई शिकार बनाउछ भन्ने पक्का भए पछि बाघ तिर पिठ्युँ फर्काएर भुइमा रहेको सुकेको हड्डी चुस्तै भन्न थाल्यो ” बाघको हड्डी त कति मीठो हुनेरहेछ। अझै बाघ भेटे त मारेर खानु हुन्थ्यो आलो झन मीठो हुनेथियो।”
कुकुरको पछि आइपुगेको बाघले हड्डी चुस्दै कुकुरले भन्दै गरेको कुरो सुन्यो। यो कुकुर म भन्दा पनि बलियो रहेछ भन्ने ठानेर बाघ डरले जता बाट आएको त्यतै कुलेलम ठोक्यो। यो सबै कुरो रुखमा बादरले हेरिरहेको थियो। बादरले सोच्यो ” यो सबै कुरोको सच्चाइ गएर बाघलाई भन्दिनु पर्यो र उसको मित्र बनिनु पर्यो।”
रुखबाट भुइमा ओर्लेर बादर बाघ भएतिर दौडियो। निकै पर पुगेर बाघलाई भेट्यो र सारा कुकुरको करतुत भनी दियो।बादरको कुरो सुनेर बाघ रिसाउदै बोल्यो” लु हिड बादर साथी त्यो कुकुरलाई आज मार्नु पर्छ।” बाघ र बादर कुकुर खोज्दै अधिकै ठाउँ तिर हिडे।
कुकुर बाटो नपाएर अलि पर भौतारिदै थियो। कुकुरले फेरि बाघ र बादर आएको देख्यो। कुकुर बाठो थियो उसले बुझ्यो कि बादरले सारा पोल लगायो। फेरि पहिला जस्तै बाघ र बादरलाई नदेखे जस्तो गरि पिठ्यु फर्काएर बस्यो। जब तिनिहरु उसले बोलेको कुरो सुन्ने ठाउमा आइपुगे कुकुर बोल्न थाल्यो” मैले बादरलाई त्यो बाघलाई कुरोमा फसाएर लिएर आइज खानु पर्छ भनेको थिए खै अहिले सम्म बादर बाघ लिएर आएन। धोका दिएछ कि क्याहो बादरले।”
कुकुरको यस्तो कुरो सुनेपछि बाघ फेरि डरले सुइकुच्चा ठोक्यो। अलि पर बाघले त्यहि बादर भाग्दै गरेको भेट्यो र आफुलाई फसाउन लगेको भनेर उसैलाई मारेर खायो। चम्चा बनिनु हुँदैन धोका हुन्छ्। कुकुरले आफ्नो सहास र बुद्धिले काम लिएर ज्यान बचायो।
काम होस पुर्याएर गर्नु पर्छ सफलता आफै हात लाग्छ।





