
कोषवल्लभ रेग्मी
देउमाई ७ इलाम
बोली बन्छ कतै कडा जहरझैं
छुच्चो मुखाले अनि।
बोली हुन्छ कतै सफा हृदयको
सच्चा हितैषी पनि॥
बोलीनै झुट-पातकी वचनको
ढाँटी-छली चोरने।
बोलीकै बसमा लिएर कतिले
गर्छन् सबै सोरने॥
बोली धार छुरा,खुँडा र खुकुरी,
पैस्तोल औजार हो।
बोली ताल,समुन्द्र,छाल र कतै
हुत्याउने भेल हो॥
बोलीनै उपदेश,सत्य सबमा
देखाउने दर्शन।
सक्ला बाँण कतै फिराउन हरे!
सक्तैन बोली-कन॥





