
मचिन्द्र खत्री
तात्यो तात्यो रनवन सबै,ग्रीष्मको राज आयो
उड्दै उड्दै गगन सयरी प्यासको बाज आयो।
पोल्ने तातो रवि किरणको साथमा आज आयो
आयो आयो अवनितलमा ग्रीष्मको काज आयो।।
होला वर्षा गडगड गरी वज्रले मार हान्ला
क्रोधी जस्तै हडबड गरी प्रेम के हो नजान्ला।
मुस्लो झार्ला चमचम गरी ज्योति झिल्को प्रहार
मान्छे मार्ला अझ पशु कतै गर्न लाग्ला विहार।।
तातो हावा जलधि जलमा ताप भर्ने कलाले
तिम्रो आभा उदित छ सदा ग्रीष्म राजा गलाले।
पक्षी साना छटपट गरी तापको मार खप्छन्
ठण्डा खोज्दै झटपट गरी शीतको प्यार रोज्छन्।।
तिम्रो तातो सहन नसकी जल्न लागे मकैका
साना साना नवल पिपिरा खेतबारी जतैका।
छाँया टाटा पलभर कतै व्योममा टेकिदैनन्
पानी पार्ने तरखर यता आज ती देखिँदैनन्।।
>दोषी मात्रै तर पनि कहाँ ग्रीष्म राजा तिमी छौ
खेतीपाती अब सुरु भयो कर्म गर्ने तिमी हौ।
प्यारा प्यारा सब कलि भए फल्न लागे फलादि
साना साना नवबिजनमा राख्नुहुन्न बिषादी।।
पानी देऊ कृषक जनमा शुष्क धर्ती रसाऊ
जोत्लान् खन्लान् चउर हरिया शुष्क पर्ती हँसाऊ।।
बालीनाली लहलह भए सृष्टि बाँच्ला रमाई
बाला घोगा मलजल गरे दृष्टि हाँस्ला समाई।।
बाख्रापाठा भरअभरमा घाँस खालान् सुकेका
होलान् भोटे कुकुर पनि ती शव्द चर्को भुकेका।
हुन्नन् दु:खी जनजन यहाँ ग्रीष्म राम्रो भएमा
रोलान् सारा पशु वन सबै ग्रीष्म चाम्रो भएमा।।





