महानता


शान्ता तिम्सिना
भक्तपुर

“बाबा , मलाई क्याम्पस भर्ना गरिदिनुस् है ! म पढ्न चाहन्छु ” छोरीले नजिकै गएर भनी।
“तँ छोरी भएर किन पढ्न पर्यो ? अर्काको घर जाने जात , पर्दैन पढ्न ।” उनले झोक्किदै उत्तर दिए । बाबाको कडा शब्दले छोरीका आँखाबाट बलिन्द्र धारा आँसु झरे।
“किन रोएकी , म छु नि ! जसरी भएपनि तँलाई पढाउँछु, चिन्ता नगर छोरी !” आमाले विश्वास दिलाउँदै भनिन्।
छोरीको भविष्यमाथि चिन्तित थिइन् उनी । जन्मेदेखि नै श्रीमानले छोरीलाई हेला गरेका थिए । छोरीको बारेमा केहि पनि चिन्ता र चासो थिएन, उनलाई।
जागिर नखाए पनि पढेलेखेकी थिइन् ,उनी । आफू शिक्षित हुनाले छोरीलाई पनि पढाउन पर्छ भन्ने सोच र महत्वाकाँक्षा थियो उनमा । त्यसैले पनि अन्याय र उत्पिडनका सपनाहरु देखिरहन्थिन् उनी।
श्रीमान भने धनको घमण्डले मात्तिएका थिए ।
उनले पैसाको ब्यवस्था मिलाएर केही दिनपछि छोरीलाई क्याम्पसमा भर्ना गराएकी थिइन्।
बाबाको कठोर शब्द अनि आमाको संघर्ष , दु:ख र पिडालाई नजिकबाट नियालेकी छोरीले कडा मेहनत पछि सरकारी कोटाबाट छात्रवृत्तिमा एम.बि.बि.एस.मा नाम निकालेकी थिई।
प्रायः घर बाहिरै दिन बिताउने उनलाई छोरी र श्रीमतीको बेरेमा केही चासो थिएन । घर आए पनि रक्सी खाने, कुटपिट गर्ने र घरमा अशान्ति मच्चाउने भन्दा अरु केही काम थिएन उनको।
एक दिन एक्कासि उनी बेहोस भएर ढले । हतार हतार श्रीमतीले अस्पताल पुर्याइन् ।
प्रेसर र सुगर बढेर होस गुमेका उनको केही पछि होस खुल्यो ।
झोलाभरी औषधि बोकेर सेतो कोटमा (एप्रोन ) मा आएकी छोरीलाई देखेर उनी छक्क परे । लाजले शिर झुकाएर छोरीसँग माफी मागे।
” छोरी पढाउने यत्रो खर्च कसरी जुटाइस् नी ! ” उनले श्रीमती तिर फर्केर नम्र हुँदै सोधे।
“बल्ल खर्च सोध्ने बुद्धि पलायो ? ” उनले खर्चको श्रोत बताइन्।
आमाको महानता अकल्पनीय थियो । सुनेर छोरीका आँखा रसाएका थिए , भने श्रीमान लज्जित बनेका थिए।
वास्तवमा आफ्नो प्रमाणपत्र भाडमा लगाएर उनले खर्चको बन्दोबस्त गरेकी थिइन्।