उमानाथ दाहाल
शिवसताक्षी , झापा
खन्ने र जोत्ने गर लौ तयारी
म दिन्छु दाना सहजै उमारी
काट्ता र कुट्ता दिनहूँ मलाई
म लिन्न चिन्ता तर होस् भलाई।
फुस्रो र रातो र कतैछु कालो
जे रङ्ग हुन् हुन्छु जतै उज्यालो
थरीथरीका रङ रूप मेरा
चाहन्छु धर्ती नबनोस् अँधेरा।
म भर्छु खाना जति प्राण आउन्
म दिन्छु पानी जति प्यास धाउन्
म लिन्न केही तर दिन्छु मात्र
इच्छा छ छाती सजियोस् सचित्र।
म वक्ष थाप्तै वन,वृक्षलाई
चाहन्छु बाँचुन् खुसले रमाई
उमार्छु उस्तै अति दिव्य नाना
वनौषधी ती बनिउन् निसाना।
पहाड, बेंसी, हिमशैल सारा
पाखा बनिन्छन् म बिना अपूरा
पुष्पादिले फाँट सजाइ दिन्छु
म नित्य आफू बिउँझै रहन्छु।
म हुन्न पाको जहिल्यै जवानी
घमण्ड त्याग्ने रहने इमानी
सत्कर्म मेरा बुझिल्यौ निहारी
ती गुप्त आँखा मनले उघारी।