मित्रता


धनसिंह विश्व
गेजिंग प० सिक्किम

“गुहार.. !गुहार..!! मलाई बचाउनु होस्।” आँखा चिम्म गरेर कछुवा चिच्यायो।
कछुवा कराएको सुनेर नजिकैको खरायोले कान ठाडो पारेर सुन्दै यता उता हेर्यो। हजारौँ गाडीहरु हिंडीरहेको सडक बिचमा घस्रन्दै गरेको कछुवा देख्यो। उ दगुर्दै आयो। संकटमा परेको कछुवालाई चिच्याउँदै भन्यो ” पख त्यहीँ बस, म आउँदैछु”। उसले आफ्नो ज्यानको बाजी लगाएर कछुवालाई हतार हतार सडक पार गराउँदै भन्यो “कहाँ हिँडेको काल खोज्न?
कछुवा डरले कामिरहेको थियो। उसले खरायोलाई कृतज्ञता प्रकट गर्दै भन्यो “धन्यवाद साथी। आज तिमी नभएको भए म बाँच्ने थिइन् होला। यी मान्छेहरुको भित्र मान्छे मरिसके छ। के सारो हतार, ह‌इ ?”
“हतार त मान्छेलाई हुन्छ। तिमीलाई चाँही के को हतार थियो ? घस्रिन्दै कहाँ हिँडेको साथी ? कछुवाले गाली गर्दै भन्यो।
कछुवाले आफ्नो दुखेसो पोख्दै भन्यो “समुद्रमा सार्कले हामीलाई बाँच्न दिएनन्। आफ्नो ज्यान सबैलाई प्यारै हुन्छ। विदेशको स्याउ भन्दा गाउँ कै नस्पाती मिठो, अब गाउँको पोखरी हिँडेको साथी। तिमीलाई पनि केही आपत पर्यो भने भन्नु है।” कछुवा बिस्तारै पोखरी तिर हिँड्यो।
“आफैँ त डल्लो असेग्रे छौ, हामीलाई केको सहायता गर्थ्यौ होला र, ” खरायोले हाँस्दै प्याच्च भन्यो।
खरायो पनि आफ़्नो बाटो लाग्यो। बाटोमा खरायोलाई बाजले आक्रमण गर्यो। बाजको डरले अतालिन्दै भाग्दै जाँदा खुट्टा चिप्लिएर पोखरी भित्र डुब्यो।
पानीमा डुबेर खरायो बेहोस भयो। पानी भित्र डुबेको देखेर कछुवाले बिस्तारै पानीबाट पौडन्दै किनारमा निकाल्यो अनि केही औषधि र सास दिएर खरायोलाई बचायो।
खरायो लाजले भुतुक्क हुँदै हतार सुइँकुच्चा ठोक्यो।