मिथ्याभास


मिसु श्रेष्ठ
दोलखा,हाल काँडाघारी काठमाडौं

`काठमाडौंको मौसम पनि अनौठो! घरभित्र ठिहिर्याउने, कौशीमा पोल्ने!´ सम्झँदै लघुकथा पढ्दे थिएँ। उसले हातको झोला भूँईमा राख्यो। “तरुल, चाकु, लड्डु आदि! माघे संक्रान्तिको लागि ……! सुन्तला चाहिँ घाममा खान भनेर …..! ” भन्दै मुढामा बसेर मोबाइल निकाल्यो। मैले नजिकै आउन ईशारा गरेँ। ऊ छेउमा बस्यो। उसको कपाल भित्र औँला खेलाउन लागेँ। उसले बिस्तारै मेरो काखमा लपक्क टाउको बिसायो। मेरो मन दशक अगाडिको परिदृश्यहरूमा भौताारिन खोज्यो। उसलाई एक-एक विगतका घटनाहरू, कथाहरू सुनाएँ। बिस्तारै वर्तमानका अनुभव र अनुभूति सुनाएँ। उसलाई विदेश जानबाट रोक्न भावुक बन्दै अश्रुधारा बहाएँ। ऊ पनि निकै भावुक बन्दै गयो । ऊ मेरो भावनामा सहमत हुँदै थियोे। मैले आफ्ना प्रेम र तर्कशक्तिबाट उसको मन जितेको अनुमान गर्दै थिएँ। हाम्रो ध्यान सँगैको गुँडमा खल्बलि मचाएका चराहरूमा गयो । हेर्दाहेर्दै एउटा बचेरा तल झर्यो । उसले सोध्यो – “त्यो बचेरा उठाउन जाऊँ ?”
“पर्दैन। “मैले बोलेँ।
“मर्ला नि!”
“मर्दैन। उसले संघर्ष गर्दै बाँच्ने कला सिक्नेछ।”
“के त्यो आफै झरेको हो ?”
“सायद। यदि ऊ पखेटा पलाएर पनि उड्न मानेन भने उसको आमाले चुच्चोले खसाली दिन्छे। र बाध्य भई उड्ने चेष्टा गर्छ!
“के चराचुरुङ्गीले आफ्ना सन्तानलाई माया गर्दैनन्?”
“ल! देखिनस् लाटा हिजोसम्म आफूले नखाई खाना खोजेर खुवाएकी? उसलाई आत्मनिर्भर हुन यस्तो गरेकी हो नि!”
“अनि आफ्नो सन्तानलाई साथमा राखी कुँजो बनाउने मेरी आमाको माया साँचो होला कि त्यो चरीको? हँ ममी! ” उसले मन्द मुस्कानसाथ ठट्यौली भावमा मेरो मुटुमा तिर रोप्यो।