मोबाइलको पिँजडा


नन्दलाल आचार्य
उदयपुर

“छोरी, आज स्कुलमा के गर्यौ?”
आमा खाना बनाउँदै थिइन्। आर्या मोबाइलमै व्यस्त थिई।
“केही खास छैन,” उसले आँखा मोबाइलबाट नउठाई जवाफ दिई।
बिहान, बेलुकी, हरेक समय मोबाइल चलाइरहेकी छोरीलाई देखेर आमा चिन्तित भइन्।
एक दिन आमाले उसको मोबाइल लिएर सोधिन्, “तिमीलाई थाहा छ? चरा गुँड बनाउन व्यस्त छन्, फूलहरू फुल्न थालेका छन्। तिमीचाहिँ के गर्दैछ्यौ?”
आर्याले झर्कँदै भनी, “आमा, यो नयाँ जमानाको चलन हो। तपाईँ बुझ्नुहुन्न।”
त्यस साँझ आमाले मोबाइलमै एउटा भिडियो देखाइन्। भिडियोमा एउटी आमा मोबाइलमा झुन्डिएकी थिइन्। छेउमै उनको बच्चा रोइरहेको थियो।
आर्याले चुपचाप मोबाइल बन्द गरिन्। केही बोलिनन् । त्यस दिनदेखि बिहानै उठेर बगैँचाको फूलहरू हेर्ने, आकाशको चराहरू गन्ने उसको नयाँ बानी बन्यो।
मोबाइलको पिँजडाबाट निस्केकी आर्या अब जीवनका रंगहरू महसुस गर्न थालिसकेकी थिई।