
रोजिना घिमिरे
साउनको यो पूर्णिमाको दिन, आज रक्षाबन्धन! चारैतिर खुसी र उल्लास छ। दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँध्दै गरेको, मिठोमसिनो खाँदै गरेको रमाइलो दृश्य देखेर मनमा एक किसिमको पीडाको ज्वारभाटा उठिरहेको छ। म पनि त्यही भीडको एक हिस्सा हुँ, तर मेरो हातमा राखी बाँध्ने कुनै बहिनी छैन। मलाई राखी बाँध्ने हातहरू र मेरो रक्षा गर्ने बहिनीको अभावले मेरो मनमा गहिरो घाउ बनेको छ।
आज सबै दाजुभाइ दिदीबहिनीको घरमा गएर, उनीहरूको हातबाट राखी बाँधेर, आशीर्वाद लिँदै खुसी मनाइरहेका छन्। मेरा साथीहरू, उनीहरूको बहिनीसँग खुसी हुँदै गरेको देखेर मेरो मनमा पीडाको बाढी आउँछ। मलाई पनि त्यस्तै एउटी बहिनीको खाँचो थियो, जो मसँग जिस्किँदै, रिसाउँदै र माया गर्दै मेरो हातमा राखी बाँधोस्। जसले मलाई “मेरो दाइ!” भन्दै माया गरोस्, जसले मेरो खुसीमा रमाओस् र मेरो दुःखमा साथ देओस्।
जब म सानो थिएँ, मैले साथीहरूको हातमा राखी देखेर मम्मीलाई सोधेको थिएँ, “मम्मी, मेरो दिदीबहिनी छैन?” मम्मीको आँखामा आँसु देखेर म चुप लागेको थिएँ। त्यो दिन मैले बुझेको थिएँ कि मेरो जीवनमा केही कमी छ, केही खाली छ। आज म ठूलो भएको छु, तर त्यो खालीपन अझै पनि छ। आज पनि मलाई रक्षाबन्धनको दिनमा सबैभन्दा धेरै पीडा हुन्छ।
मलाई लाग्छ कि दिदीबहिनी हुनु भनेको जीवनमा एउटा सुन्दर फूल हुनु हो। दिदीबहिनी, जो दाजुभाइको लागि खुसीको स्रोत हो, जो जीवनको हरेक मोडमा दाजुभाइको साथ दिन्छन्। दिदीबहिनी, जो दाजुभाइका लागि घरको रौनक हो। दिदीबहिनी, जसको साथले दाजुभाइको जीवनमा पूर्णता ल्याउँछ। दिदीबहिनी नहुनु भनेको जीवनको एउटा महत्त्वपूर्ण भाग हराउनु हो, एउटा खालीपन हुनु हो, जुन कहिल्यै भरिँदैन।
आज म एक्लै छु। मेरो मनमा ती दिदीबहिनीको याद छ, जो कहिल्यै थिएनन्। म कल्पना गर्छु, यदि मेरा पनि दिदीबहिनी भएको भए, आज हामी सँगै हुन्थ्यौँ, हामी रमाइलो गर्दै राखी बाँध्थ्यौँ। हामी खुसी हुँदै मिठोमसिनो खान्थ्यौँ। हामी जिस्किँदै, रमाइलो गर्दै खुसी मनाउँथ्यौँ। तर यो सबै कल्पना मात्र हो, जुन कहिल्यै सत्य हुँदैन।
मलाई थाहा छ कि आजको दिनमा म एक्लो छु। तर पनि म खुसी छु, किनभने म मेरा साथीहरूलाई उनीहरूका दिदीबहिनीसँग खुसी देखेर आनन्दित हुन्छु। मलाई लाग्छ कि उनीहरूको खुसीमा मेरो खुसी छ। तर पनि मनको कुनामा एउटा पीडाको लहर छ, जुन आँसु बनेर बगिरहेको छ। यो पीडाले मलाई यो कुराको महसुस गराउँछ कि दिदीबहिनीको महत्त्व कति धेरै हुन्छ, र म उनीहरूको महत्त्वलाई कति धेरै बुझ्छु।
आज म मन्दिरमा गएर भगवानसँग प्रार्थना गर्छु, “भगवान, जसका दिदीबहिनी छैनन्, उनीहरूलाई सधैँ खुसी राखिदिनुहोस्। र जसका दिदीबहिनी छन्, उनीहरूको सम्बन्ध सधैँ बलियो र प्रेमपूर्ण बनाइदिनुहोस्।”
मेरो आँखाबाट आँसु बगिरहेको छ। यो आँसु खुसीको हो या पीडाको, मलाई थाहा छैन। तर यो आँसुले मलाई मेरो जीवनको एउटा ठूलो खालीपनको महसुस गराउँछ। यो आँसुले मलाई यो कुराको बोध गराउँछ कि दिदीबहिनी, जो जीवनको सबैभन्दा ठूलो वरदान हो, म त्यो वरदानबाट वञ्चित छु।
यो रक्षाबन्धनको दिनमा म मेरा नजन्मिएका दिदीबहिनीको अभावमा रोइरहेको छु, जसलाई मैले कहिल्यै देखेको छैन, जसलाई मैले कहिल्यै भेटेको छैन। तर पनि उनिहरूको माया,अभाव मेरो मनमा सधैँ छ, उनिहरूको अभाव मलाई सधैँ खड्किरहेको छ, र सधैँ खड्कीरहनेछ।





