
शुक्रराज कुँवर
बभद्रपथ , धरान १०
“त्यो ज्ञाने फेरि भागेछ ? त्यसलाई पक्रेर ल्याओ।” भर्खरै नयाँ जङ्गलमा बसाइँ सरेका राउटेका मुखियाले भने। मुखियाको आदेश पाउनासाथ केही राउटे गाउँतिर दौडिए।
मुखियाले समुहलाई सम्वोधन गर्दै भने, “हाम्रो अन्तिम घर भनेको वन हो । आवश्यक कामले बाहेक कोही गाउँ पस्नेछैन । वनले जे दिन्छ त्यसैको उपभोग गर्ने हो । अचेल पैसाको लालच बढेको छ , पैसा छुनु ,लेखपढ गर्नु , खेतीपाती गर्नु राउटे परम्पराले पाप मान्छ।”
“अनि सरकारबाट किन भत्ता बुझ्छौ त ? हाम्रा दाजुभाइ रक्सिले मात्तिएर गाउँ डुलिराछन् । छोरीचेली माथि सहरियाहरुको नजर पर्न थालेको छ । खोइ त नियन्त्रण ? ” समुहबाट विद्रोहको आवाज सुनियो।”
” परम्पराको बर्खिलाप जानेहरुलाई समुहबाट निस्कासित गरिनेछ । “मुखियाले भन्दै थिए त्यसैबेला केही राउटेहरुले ज्ञानेलाई पक्रेर ल्याए । ” कहाँ भेट्यायौ यसलाई ?” मुखिया कड़किए।
“गाउँको विद्यालयमा थियो, मुखिया।” एकजना राउटेले भन्यो।
“बाँधेर राख् यसलाई! यसको नियाँ निसाप म गर्छु ” मुखिया निर्मम कारबाही गर्न तम्सिँदै थिए । समुहबाट फेरि विद्रोहको आवाज गुन्जियो । “अब हामीले अन्ध परम्परालाई त्याग्नै पर्छ । वनमै बसौँला तर समयको माग सँगै हामीले आफूलाई बदल्दै जानुपर्छ । शिक्षा अवश्यम्भावी छ।”
समुहले प्रतिरोध गरेका कारण मुखिया हच्किए तर तत्काल ज्ञानेलाई समुहबाट निस्कासन गरेको घोषणा गर्दै उसलाई मुक्त गरिदिए। मुक्ति पाउनासाथ ज्ञाने पनि गाउँको बाटो डौडियो।
राउटे समुदायमा सन्नाटा छायो। उनीहरुले एउटा सदस्य गुमाएका थिए। मुखियाको निर्णय प्रति विमति भएता पनि मान्नै पर्दथ्यो । गोधूलि साँझ थियो , ज्ञाने सबैको नजरबाट ओझेल पर्दै थियो । केहीबेर पछि पहाड ,वनजङ्गलमा ठक्कर खाएर मुखियाको पुकार प्रतिध्वनि बनेर गुन्जिरह्यो – “ज्ञानको ज्योती बोकेर फर्कि आइज है … ! ज्ञाने………..! “





