रानी माहुरी

 


रम्भा पौडेल

उसले रानी माहुरीलाई समात्न निकै प्रयत्न गर्यो तर सकेन।
“लौ हेर, त्यति जाबो रानी माहुरीलाई समात्न पनि नसकेको ?” गितुले गिज्याई।
“तिमीलाई थाहा छ रानीलाई कसरी माहुरी भित्रैका पुलिसले सुरक्षा दिन्छन भन्ने कुरा ?” जीवनले प्रश्न गर्यो।
“अहँ थाहा छैन । रानी माहुरीलाई कसरी सुरक्षा दिन्छन् भनन।”
“माहुरी हेर्दा किरा प्रजाति भएर पनि यिनीहरुमा गजवको एकता हुन्छ । हुनत कमिलामा पनि यस्तै हुन्छ तर कमिलाले मह बनाउँदैन । हामीले जनावर र किराहरुबाट पनि सिक्नुपर्ने कुरा धेरै छन  बुझयौ ? सबैभन्दा ठूलो कुरा त मिलेर ठूलो समुहमा बस्ने र मिलेर काम गर्ने कुरा मानिसले अझै यिनीहरुबाट सिक्नै बाँकी छ ।”
जीवनले अगाडि भन्दै गयो, “माहुरीहरु हेर्दा उस्तै देखिन्छन् तर त्यहाँ थरिथरिका माहुरी हुन्छन । माहुरीको हरेक घारमा एउटा रानी माहुरी हुन्छ । भाले माहुरीले काम गर्दैनन् । माहुरीको घारमा धेरै कर्मी माहुरी हुन्छन् । कर्मी माहुरीमा कामको विभाजन व्यवस्थित हुन्छ । कर्मी माहुरी मध्ये धेरैजना मह संकलन गर्न जान्छन् भने केही माहुरी शत्रूबाट घारको सुरक्षा गर्नका लागि द्वारपालको काम गर्छन् । तिनीहरु सबै गोलमा मिलेर बस्छन् । बैरीलाई टोक्नुपर्यो भने सबै मिलेर धुरिन्छन् । रानीलाई यिनीहरुले सुरक्षा गरेर राख्छन।”
जीवनले धाराप्रवाह बोलिराख्यो, “रानीको काम बच्चा जन्माउने हो । कर्मीमाहुरीले फुलहरुबाट रस संगालेर जम्मा गर्छन् र आफ्ना बालबच्चलाई खुवाउँछन् । माहुरीले वर्षभरि खानकालागि मह जम्मा गर्दछन् । मह संकलन हुने ठाउँलाई चाका भनिन्छ । तिमी–हामीले त यिनीहरुले बनाएको मह खाइदिन्छौँ ।”
“यिनीहरु बस्ने ठाउँलाई घार भनिन्छ । गाउँघरमा मानिसहरुले काठको बस्ने घार बनाइदिन्छन र उनीहरुले जम्मा गरिदिएको मह संकलन गरेर खान्छन् वा धेरै भए बिक्री गर्छन्।”
“भालेको काम सन्तान जन्माउने मात्र हो । रानी माहुरी घरकी मुली हुन्छिन् । जब रानी माहुरी घारबाट निस्कन्छ तब सबै माहुरीहरु घार छोडेर बाहिर निस्कन्छन् ।”
“ए, यिनीहरुका बिचमा कामको बाँडफाँड व्यवस्थित र एकता ज्यादै बलियो हुँदो रहेछ है !” गीतुले आश्चर्य व्यक्त गर्दै भनिन्।”
जीवनले आफूले जानेका कुरा सबै बताउँदै भन्यो, “त्यति मात्र हैन, अन्नबाली, फलफुल इत्यादि उत्पादनमा यिनीहरुको महत्वपुर्ण योगदान हुन्छ । माहुरीहरु यो संसारबाट हराए भने बालीनाली उत्पादन हुँदैन। यिनीहरुले नै परागसेचन गराएर बाली उत्पादन हुन्छ ।”
“ए, माहुरीले यतिधेरै गुन लाउँदो रहेछ मानिसका लागि ! तिमीले रानी माहुरीलाई समात्न खोजेको रहस्य बल्ल थाहा पाएँ ।” गीतुले खुसी हुँदै भनी।
जीवनले भन्यो,“के थाहा पायौ ल भन त!”
गीतुले भनी, “रानी माहुरी समातेर लगेपछि सबै माहुरी सँगसँगै जान्छन् र तिम्रो घरमा रहेको घरामा बस्छन् । अनि मह खान पनि पाइने बाली नाली पनि राम्रो हुने त्यै हैन तिम्रो रहस्य रानी माहुरीलाई लैजान खोज्नु को ?” गीतुको कुरा सुनेर जीवन मुसुक्क मुस्कुरायो।