
पुण्यप्रसाद घिमिरे
आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही गर्थ्यो । ऊ अलि बढी नै उपद्रवी र बदमास स्वभावको थियो । अरूको बगानबाट काँचो आप झारेर खेर फ्याल्ने, बाटामा गुडिरहेका गाडीमा ढुङ्गा हान्ने र साना साथीहरूलाई कुटपिट गरेर रुवाउने उसको दिनहुँको धन्दा थियो ।
उसका यस्ता उपद्रवले गर्दा घरपरिवार, छिमेकी र पूरै समाज हैरान बनेका थिए । गाउँका मानिसहरू उसलाई देख्ने बित्तिकै बाटो नै पन्छेर हिड्थे । एकदिन उसले बाटोमा केराको बोक्रा फ्यालिदियो । त्यसमा टेकेर छिमेकी हजुरआमा पछारिदा हात नै भाँचियो । अर्को दिन उसले फालेको ढुङ्गाले लागेर छिमेकीको घरको झ्यालको सिसा फुटेर ठूलो नोक्सानी भयो । घरमा दिनहुँ गुनासोको ओइरो लाग्दा आमाबाबुले समाजमा शिर ठाडो गरेर हिँड्नै नसक्ने अवस्था आयो । सबैले उसलाई “आँखाको कसिँगर“ बनाएका थिए ।
दिनहरू यसरी नै बित्दै गए । आदित्य बिस्तारै ठूलो हुँदै गयो र कक्षा पाँचमा पुग्यो। उमेरसँगै उसले दुनियाँ र समाजका कुराहरू बुझ्न थाल्यो । एकदिन विद्यालयबाट फर्किँदा उसले आफ्ना बुबालाई छिमेकीहरूसँग हात जोडेर, आँखामा आँसु भर्दै आफ्नो उपद्रवका लागि माफी मागिरहेको देख्यो । त्यही साँझ उसले बाटोमा एउटा कुकुरको पुच्छर समातेर जिस्काउन खोज्दा त्यसले उसलाई पछाडिबाट टोकिदियो । घाइते भएर ओछ्यान पर्दा न त कुनै साथी भेट्न आए, न त छिमेकी नै दया देखाउन आए । परविारका अभिभावकले पनि ठिक्क पर्यो भने । त्यतिबेला उसलाई महशुस भयो— “मैले अरूलाई दिएको दुःख नै आज मतिर फर्किएछ।“ आफ्ना कारणले आमाबाबुले समाजमा पाएको अपमान र आफ्नै एक्लोपनले उसको मनभित्र ठूलो चोट पुर्यायो ।
त्यही बेलुका पछुतो लागेर धेरैबेर सम्म एक्लै रोयो र रुँदै आफ्नो मनसँग एउटा दृढ प्रतिज्ञा गर्यो— “अब म पुराना सबै नराम्रा बानी छाडेर ज्ञानी, अनुशासित र असल मान्छे बन्नेछु ।“ त्यस दिनपछि आदित्य जूनजस्तै शान्त र शीतल बन्यो । उसले उपद्रव गर्न चटक्कै छाड्यो आफेंले आफूलाई परिवर्तन गर्यो । बिहान–बेलुका आमाबाबुलाई सघाउने, बाटामा भेटिएका बृद्धबृद्धालाई सहयोग गर्ने र साना साथीहरूलाई माया गर्ने उसको बानी बन्यो। उसले बिरामी भएकी तिनै छिमेकी हजुरआमाको घरमा गएर गई माफी मागेर काममा सघाउन थाल्यो । उसको यो अद्भूत परिवर्तन देखेर गाउँलेहरू दङ्ग परे ।कडा मिहिनेत र लगनशीलताका कारण वार्षिक परीक्षामा आदित्य पूरै विद्यालयमा प्रथम भयो । जुन गाउँलेले उसलाई बदमास भन्थे, आज तिनै मानिसहरूले उसलाई काँधमा उचालेर वा ! वा ! आदत्यि भनेर सबैजनाले बधाई दिए ।





