
प्रा.डा.प्राज्ञ खेमराज खनाल
पिण्डेश्वर क्याम्पस, धरान-१४, सुनसरी
कोपिलालाई स्कुल जान मन लागेन। उनले भनिन्, “म त मामुसँगै बत्तु। जान्न इक्कुल ।” आमाले भन्नुभयो, “स्कुल जाऊ कोपिला। पिङ खेल्न पाइन्छ। खेलौनाहरू नि धेरै छन्।” उनलेे भनिन्, “नाइँ, गुरुमाले कुत्नुहुन्च रे।” आमाले सम्झाउनु भयो, “कहाँ कुट्नुहुन्छ ? माया पो गर्नुहुन्छ त।” उनले भनिन्, “त्याँ मोबाइल हेल्न पाइन्च ?” आमाले भन्नुभयो, “किन चाहियो मोबाइल! चिप्लेटी, घोडा, गाडीहरू छन्। खेल्न पाइन्छ। पढीलेखी ठुलो मान्छे बन्नुपर्छ।” चकलेट खाने सर्तमा कोपिला स्कुल गइन् । प्ले ग्रुपमा भर्ना भइन्।
कोपिलाको स्कुलको पहिलो दिन थियो। गुरुमाले राष्ट्रिय गान गाउनु भयो। पछिपछि सबैले गाए। कोपिलाले नि गाइन् । कक्षाभित्र धेरै गाडी रहेछन्। सबैले मिलेर खेले। घोडा कुदाए। चिप्लेटी खेले। गुरुमाले रातो कलमले नारीमा घडी र हत्केलामा फूल बनाइदिनु भयो। कोपिला रमाइन्। धेरैबेर खेलेपछि सबै गले। अल्छी पनि लाग्यो। गुरुमाले सबैलाई बसाउनु भयो। मोबाइलमा गीत लाउनु भयो र छमछमी नाच्न थाल्नुभयो। सबै नानीबाबुहरूले ताली बजाए। उहाँले सोध्नुभयो, “कसैलाई नाच्न मन छ ?” रिङ्कुले भनिन्, “म नाच्छु गुरुमा।” उनी नाच्न थालिन्। रमेश, शङ्कर र रिता पनि नाचे। कोपिलालाई लाज लागिरहेको थियो। सबैले नाचेपछि सरम भाग्यो। उनी उफ्री उफ्री नाचिन्। दिउँसोको एक बज्यो । गुरुमाले भन्नुभयो, भोलिदेखि बाह्रखरी पढ्नुपर्छ है।” घण्टी लाग्यो। आमा आउनुभयो। मिठो चकलेट दिनुभयो। सोध्नुभयो, “कस्तो लाग्यो कोपिला, स्कुल ?” उनलेे लाडिँदै भनिन्, “लमाइलो लाग्यो मामु।” “गुरुमा कस्ती हुनुहुँदो रहेछ त ?” “लाम्ली” भोलिपल्ट देखि कोपिला आमासँग झगडा नगरी स्कुल आउन थालिन्।





