“लडाँई”


रमेश सुबेदी
ललितपुर-१३ कुसुन्ती

एउटा जङ्गलमा चर्दै गरेको गाईलाई बाघले झम्टन खोजे पछि ज्यान बचाउन भाग्दा एउटा तलाउमा हाम फाल्छ। सिकारको लोभले गर्दा बाध नि के कम, आखिर जङ्गलको राजा जो ठहरियो, झ्याम्म तलाउमा हम्फाल्यो । हेर्दा गहिरो जस्तो देखिए पनि हिलो धेरै भएको कारण गाई गाडिंदै गयो । बाघ गाईलाई भेट्टाउँछु भन्दै अघि बढे पनि हिलोको कारण खुट्टा धसिएको हुँदा अघि बढन सकेन । यी दुबैको बिच मात्र एक मिटरको दुरी थियो । दुबै हिलोमा गाडिंदै जाँदा चारै खुट्टा धसिएर हल्लिन नसक्ने गरि फसे । गाई नजिक भए पनि बाघले गाईलाई समात्न सकेन ।
केहि समय पछि गाईले बाघलाई सोद्यो, तिम्रो कोहि गुरु वा मालिक छ ? बाघ हुँकार गर्दै फुर्तिले बोल्यो, म स्वयं जङ्गलको राजा, मेरो कोहि मालिक छैन, म आफैँ जङ्गलको मालिक हुँ । फेरी गाईले सोध्यो, त्यसो भए तिम्रो त्यो शक्तीको यहाँ के उपयोग हुन्छ त ? बाघले भन्यो, तँ पनि त फसेको छस्, केहि बेरमा मर्ने वाला छस्, तेरो नि मेरो जस्तै हालत छ ।
यो कुरा सुने पछि गाई मुस्कुराउँदै बोल्यो, होईन, मेरो त मालिक साँझ सम्म म घर नपुगे पछि मलाई खोज्दै यहाँ आउनुहुन्छ । मलाई यो दलदलबाट निकाल्नु हुन्छ र आफू सङ्गै घर लैजानु हुन्छ । तिमीलाई कस्ले लैजान्छ ? साँच्चै केहि बेरमा एकजना मान्छे आउँछ र गाईलाई हिलोबाट निकालेर आफ्नु घर लैजान्छ । जाने बेला गाई र उसको मालिक एक आपसमा कृतज्ञता पूर्वक हेरि रहेका थिए । उनीहरु चाहेर पनि त्यो बाधलाई हिलोबाट निकाल्न सक्दैन थिए । किन भने त्यहि बाघले झम्टेर आफ्नै ज्यान जाने खतरा थियो ।
यहाँ, गाई समर्पित ह्रदयको प्रतीक हो, बाघ अहंकारी मन हो र मालिक ईश्वरको प्रतीक हो । हिलो यो संसार र यो संघर्ष अस्तित्वको लडाँई हो ।