
देव भट्टराई
लुतो फाल साथी भरे आज राति ।
जलून् देशद्रोही जलून् राष्ट्रघाती ।।
र ब्यूँझेर हेर्दा सफा होस् न भोलि ।
सदाचार ल्याई बसौँ प्रेम घोली ।।
भयो जीर्ण रोगी सबै क्षेत्र राष्ट्र ।
ठगाहा र घाती लुतो ठान्छ शास्त्र ।।
तिरस्कार गर्ने बसालौँ न बानी ।
कसैले नठानौँ न राजा र रानी ।।
चुसी रक्त हाम्रो भएको छ राम्रो ।
निकै शक्तिशाली छ यो किर्नु चाम्रो ।।
घुमाएर आगो अगुल्टो सबैले ।
लखेटौँ कसैले दपेटौँ कसैले ।।
गरे मान धेरै अझै तम्सिने छ ।
गजक्कै परी ऊ सधैँ गम्किने छ ।।
जता धेर आँखा उतै लाउने छ ।
युवाशक्तिलाई स्वयं दाउने छ ।।
न गन्ने छ कोही अरू आफुभन्दा ।
गनी बस्छ पैसा विनाकामधन्दा ।।
भनी देश मेरो र बाँकी कमारा ।
तिखो शूल घोच्नेछ यो भातमारा ।।
गरेनौँ भने आज रोक्ने दबाई ।
गलाएर छोड्नेछ यो देशलाई ।।
उठौँ शीघ्र साथी जुटौँ शीघ्र साथी ।
लुतो फाल्नलाई भरे आज राति ।।





