
नन्दलाल आचार्य
एनेलकुटी, सिरहा
झिसमिसेदेखि नै कालेदाइ काममाथि कामले थिचिएका थिए । घरेलुु कामदार हुनुको भूमिका निर्वाह गर्न विवस थिए ।
उनैलाई वनजङ्गलमा गई भलायोको पात, उन्यौ, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनो, धसिङ्गरेको बोट, तीतेपाती, कुरिलो, सिउँडी, सिस्नो, पानीअमला जस्ता वनस्पति सङ्कलन गर्न लगाइएको थियोे । मौसम अनुसारका निबुवा, अम्बा, आरुबखडा, आलुचा, आरु, जुनार, सुन्तला, संखत्रो, नासपातीजस्ता फलफूलहरू जम्मा गर्न समेत भनिएको थियोे । सासै नफेरी काम गर्दा बिहान खर्लप्पै सिद्धिएको थियोे ।
अझ तुलसीको मोठनजिक बासका कप्टेराकाे मण्डप बनाउन लगाए । छेउछेउमा धानचमरा सहित मकैको बोट खडा पार्न लगाए । वनस्पति र फलफूल सजाउन लगाए । घरआमैले पाँचमुठा राँको र दश ओटा अगुल्टा राखी धोईपखाली गरेका ढुङ्गाका प्रतिमामा पूजा गरिन् । झमक्क साँझमा कन्दारकको पूजाआजा गरिन् ।
“मैले अगुल्टो फाल्दा तैंले मूलढोका लगाउने, नाङ्लो ठटाउने, ढिकी कुट्ने, जाँतो पिस्ने, दमाहा बजाउने, शङ्ख फुक्ने र घण्टा बजाउने गर्नु है ?” आमैले कालेदाइलाई आदेश जारी गर्दै राँको र अगुल्टो दशै दिशामा फाल्न थालिन् । अगुल्टो फाल्दा कराइन्; “लुतोखटिरा यहाँबाट भागी जा, शत्रुघरमा सरी जा ।”





