सुधिर थापा
काठमाण्डौ
शिशिर गयो वसन्त आयो फूलको बहार
रुदै छ न्याउली के पीर पर्यो नकाट्दै सङ्घार
गए छ जाडो आए छ गर्मी माैसम यस्तै छ
भमराहरू उडेर फेरि डालीमा बस्दै छ
कोइलीको बोली छ त्यस्तै मीठो लाएर पिरती
फूलहरू हाँस्छन् फुलेर कस्तो झुकाइ शिर ती
चिसो त्यो हावा चल्दैछ फेरि चाैतारी पिपलमा
मायालु जोडी थकाइ मार्छन् बसेर शीतलमा
पंक्षीको आवाज छ कस्तो मीठो बिहानै कराउने
धूपी ती सल्ला सुसाउछन् त्यस्तै आनन्द गराउने
नागबेली नदी बग्दछन् कलकल गाउँका बस्तीमा
गुञ्जिन्छन् पाखा हालेर भाका भुलेर मस्तीमा
मुजुरा आए ढाकेर सारा पालुवा पलाइ
गुराँस फुले वन पाखा ढाक्दै साैन्दर्य खुलाइ
गुयली पाके काफल पाके चरीले डाक्दै छ
यी हाम्रा सबै भीर र पाखा फूलले ढाक्दै छ
लालु ती पाते फुलेका फेरि भरेर सिउँदा
छहरे धारो पानी छ मीठो कलकली पिउँदा
देउराली भन्ज्याङ्ग लाग्दैछन् राम्रो उमङ्ग छाएर
हिमाल खुल्यो गगन खुल्यो वसन्त आएर।