
सुरेशकुमार पाण्डे
दाङ घोराही
“नानी यो भात धनपती दाइलाई दिएर आऊ त।” – प्रितीलाई उसको आमाले थाल थमाउँदै अह्राइन्। दलानमा पहिल्यै देखि बसेका धनपतीको अगाडि थाल राख्दै भनी।”- अंकल पानी ल्याइदिउँ ? ” हँ मा टाउकोले इसारा गर्यो। पसिनाले लुथ्रुक्क भिजेको धनपति। बिहानभरी खेत जोतेर आएको बिचरा भोक भन्दा थकाई बढी लागेको थियो। प्रितीले एक लोटा पानी लिएर राखी। ऊ उठ्यो र हात धोयो पानी तिर्खाले सताएको थियो। त्यो पानी पिएर सिद्धायो। ” अरू पानी ल्याउँ अंकल ?”- उसले लोटा उठाउँन थालेकी थिई। “त्यो लोटा त्यहीँ रहनदेऊ तिमी भित्र आएर आर्को लोटामा पानी सार र त्यो लोटामा माथिबाट खनाउँ है। नछुवाएर।”- आमा रम्मिताले सम्झाइन्। उसले पनि सम्झाए अनुसार गरी। “आमा अंकललाई लोटा छुवाए के हुन्छ ?”-प्रितीले बुझ्न खोजी।” लोटा जुठो हुन्छ नि धेरै भाँडा जुठा किन गराउँने ? त्यही भएर भनेको हो।”-रमिताले कुरा अन्तै घुमाउँन खोजिन्। ” त्यो त ठिक हो तर अंकललाई पनि भित्र हामीसँगै खान बसाले के हुन्छ ? यती धेरै गर्मीमा नत दलानमा पंखा छ।”- प्रितीले जिज्ञासा राखी। प्रिती बढी जिज्ञासु स्वभावकी दश वर्षकी बालिका हो। हुन त हुन्थ्यो तर अंकलले बाहिरै बस्छु भनेर दलानमा बसालेका हौँ नि ।”- रम्मिताले असली कुरा लुकाइन। खाना खाएपछि धनपतिले आफुले खाएको भाँडा माजेर घोप्टाए। अंकल हजुरले नमाजेको भए पनि त हुन्छ नि।”- प्रितीले भनी। ” आफुले खाएको भाँडा आफैले माझ्नुपर्छ नि नानी।”-धनपतिले पनि खाटी कुरा भन्न चाहेनन्। धनपतिले माझेको भाँडा प्रितीले उठाएर भित्र लान थाली। ” प्रिती त्यो भाँडा त्यही राख भित्र नल्याउ।”-भित्रबाट रमिताले अलि जोडले कराउँदै भनी। ” किन र आमा ! धनपति अंकलले माझेर राखेका भाँडा हुन।भित्र राखेर आउँछु । प्रितीले भनी। ” भैगो राख्नुपर्दैन तिमीलाई त सम्झाएर पनि भएन। अब राम्रैगरि भन्नैपर्छ । भित्र आउ तिमी।”- रमिताले प्रितीलाई बोलाई। ” सुन अब तँ ठुली भइस खाटीकुरा बुझ्नै पर्छ। उनी दलित जातका हुँन।उनको सामुन्य पो भन्नु भएन तर बुझ्ने कुरा हो। त्यसैले भनेको। ” आमा उनी पनि हामीजस्तै मानिस होइनन् र यसरी गरिने बिभेद ठिक लागेन मलाई त ?” -उसले फेरी आफ्नै बिचार राखी । ” तँ धेरै मेरो हजुर आमा बन्ने प्रयास नगर। जति सम्झाएँ तेत्ती बुझ।”- रमिताले प्रितीलाई हकार्दै भनी। ” हामीले अब के सिक्ने पुस्तकमा लेखेको आफ्ना आँखाले देखेको वा हजुरहरूले सम्झाएको ?”-प्रितीले आमासँग निरास भएर सोधी। रमिता चुपचाप बाहिर तर्फ लागी।





