“संस्कार”


“अनिमेष “नीलम कुमार पौड्याल
बाग्लुङ

साँझको समय थियो। कोठाभित्र झ्यालबाट हल्का सुनौला किरणहरू पसिरहेका थिए। रमिला ऐना अगाडि बसेर निधारमा सिन्दुर लगाउँदै थिई। आमा सीता ढोकामा उभिएकी थिइन्।
“छोरी,” आमाले मधुर स्वरमा भनिन्, “अब त तँ पनि ठूलो भइस्। अहिलेका केटाकेटीहरू जस्तो जथाभावी नगर्नू। छोरी मान्छेले त आफ्नो चालचलन, कपडा बोलचालमा पनि कुलको इज्जत हेर्नुपर्छ। संस्कार भुल्न हुँदैन, बुझिस् ?”
रमिलाले हल्का टाउको हल्लाई। तर उसको मन भने आमाकै विगतका ती तस्बिरहरूमा गइसकेको थियो—आफ्नो प्रेममा परेर घरबाट भागेकी, वर्षौंपछि फर्केर मात्र परिवारसँग सम्बन्ध गाँसेकी ती आमा, जसले समाजले दिएको गाली, कुलको “इज्जत” सबै सहेर आफ्नो बाटो रोजेकी थिइन्।
रमिलाले शान्त स्वरमा सोधी, “आमा, तपाईँले पनि त कहिल्यै अर्काको कुरा नसुनी, आफ्ना लागि बाटो रोज्नुभयो। म तपाईँको त्यही आँट देखेर हुर्किएँ। अब म पनि आफ्नो निर्णय आफैँ गर्न चाहन्छु। के त्यो संस्कार बिपरित हो ?”
आमाको अनुहार केही क्षण मौन रह्यो। आँखा झुल्किए, अनि फेरि सामान्य हुँदै भनिन्, “छोरी, साँच्ची… कहिलेकाहीँ आफूले बोलेका शब्द आफैँलाई प्रश्न झैँ लाग्दो रहेछ।”
रमिलाले मुस्कुराउँदै आमाको हात समाती।