सद्मा!

सुरेशकुमार पाण्डे
दाङ घोराही

मम्मी म अब स्कुल जाँदिन !”- सानी नानीले जिद्दी गर्दै भनी। “केअरे “फेरी भन त , के भनेको यस्तो ? चुप लागेर हिंड! -“रूपाले हकार्दै भनिन्। “म जाँदै जाँदिन ” -ऊ रून थाली। न हकार न बालखलाई उसको कुरा पनि त सुन किन स्कुलमा जान्न भन्छिन्।”- बुद्धि प्रसादले रूपालाई सम्झाउँदै भने। “खै कुन्नि ! हजूरको प्यारले बढी जिद्दी भएकी छ अचेल।”-रूपाले छोरी तिर आँखा तर्दै भनिन्। “हिजो सम्म त खुरू खुरू स्कुल जान्थी यो नानी आज अचानक के भयो यसलाई ?”-बुद्धि प्रसादले आफ्नो काखामा बसाल्दै नानीलाई सोधे। “के भयो तिमीलाई भन त ? बुद्धि प्रसादले नानीको कपाल सुमसुमाउँदै भने। “बाबा ! हाम्रो स्कुलमा एउटी दिदीलाई हिजो पङ्खामा झुण्डाएर मारेछन्। मलाई पनि मारे भने ? म अब त्यो स्कुलमा कहिल्यै जाँदिन”-पाँच वर्षकी बालिकाको कुरा सुनेर रूपा र बुद्धि प्रसाद एक आर्कामा हेरा हेर गरे।