भैरव गेलाल
“छाेरी! हामी शरीर मात्र हाेइनाैँ, आत्मा पनि हाैँ। साचाे भनाैँ भने हामी आत्मा नै हाैँ । शरीर त आत्मिक उर्जाले सञ्चालित छ। आत्मा बिना त शरीर एउटा मुडाे मात्र हाे । त्यसैले त शारीरिक भाेगका भाैतिक सम्पदाले भरिपूर्ण भएर पनि मन एक्लाे हुन्छ अनि अधुराेपन र अपूर्णताकाे भावले विक्षिप्त जस्ताे हुन्छ ।
शरीर सुख खाेज्छ, आत्मा आनन्द चाहन्छ । भाेगकाे ईच्छाले अतृप्ति जन्माउँछ र अतृप्तिले बेचैनी । छाेरी! तिमीलाई थाहा छ? मन आत्मा र शरीर बीचकाे सीमा हाे । मनलाई शरीरतिर फर्कायाै भने तिमीलाई यसले भाेगेच्छाकाे मरुभूमिमा दाैडाउँछ ; तर आत्मातिर माेडिदियाै भने आफैँभित्रकाे परिपूर्णतामा रम्न थाल्छ र जीवन आनन्दमय बन्छ । त्यसैले छाेरी ! बाटाे राेज्दा आत्मानन्दकाे बाटाे राेज्नु , शारीरिक भाेगेच्छाकाे हाेइन। मेराे कुरालाई सधैँ सम्झनु , जीवन सफल हुन्छ।” – सम्झाउँदै थिए गुणानन्द सरदकाे न्यानाे घाममा बसेर आफ्नी छाेरी आराधनालाई।
यस्तैमा ओठमा लाली , गाेराे निधारमा कालाे विन्दी, आँखामा चश्मा , गलामा सुनकाे सिक्री अनि गुलावी सारीमा ठाँटिएकी आमा नुतन काेठाबाट निस्किन काधमा लामाे फिता भएकाे सानाे पर्स छड्के भिरेर । उनले एक टक छाेरीतिर हेरिन अनि गुणानन्दतिर दृष्टि फर्काएर रुखाे भाकामा उभी-उभी भन्न थालिन-” मेरा बाबुले मेराे जीवन वर्वाद पारे यस्तै साेचले, अब ….।” बीचमै राेकिएर छाेरीतिर आँखा र भाषाले सम्बाेधन गर्दै थपिन-“हेर छाेरी! पाैरख गर्न नसक्ने हुतीहाराले यस्तै ताईँ न तुईँका मनाेगत कुरा गर्छन्। आदर्शका सपना देखेर जीवनवृक्ष सुकाउनेकाे तल बसेर शीतल छहारी कहिले पाइँदैन। यस्ताले आफ्नाे परिवारलाई न धनले न तनले सुख दिन सक्छन् । हेर! मलाई मेरा बाबुले के देखे यिनमा र जीवनभरि दुःख पाउन यिनकाे हावादारी पाेल्टामा हालिदिए। तँ पनि यिनकाे कल्पना लाेकमा घुम्न थालिस भने संसारकाे वैभवकाे भाेगबाट बञ्चित हुन्छेस्।” – उनका हरेक शब्दमा भाैतिक जगतकाे तीब्र भाेगेच्छा अनि पति गुणानन्दप्रति राेशपूर्ण व्यङ्ग्य झल्किन्थ्याे । अन्त्यमा -” हेर छाेरी! यस्ता हुतिहाराका कुरामा लागिस् भने तैले पनि निधारमा तृपुण्ड घस्नु पर्ला , अलिक हाेस गरेस् , म त हिडें सिनेमा हेर्न सहरतिर ।” – भन्दै स्याण्डिल बजाउँदै हिडिन् । बाबुुछाेरीका उदास आखाले परसम्म पछ्याए । जब नुतन रिक्सामा सबार भएर सडककाे माेडमा ओझेल परिन अनि बाबुछाेरीले एकार्कालाई सहानुभूतिपूर्ण दृष्टिले हेरे । यसैबेला रिक्सामा सिनेमाकाे प्रचारकाे आवाज सुनियाे -” पारिवारिक नेपाली कथानक चलचित्र ‘छाेडपत्र ‘ भब्य प्रदर्शन भइरहेछ।”
बाहिरबाट पति विवेकले आराधना ! भनेर बाेलाएकाे आवाजले उनी झसङ्ग भएर ब्युँझिन् । बिपना जस्तै सपना थियाे । त्यस बेलाकाे दश-बारकाे कलिलाे मस्तिष्कले सिनेमा हेर्न निस्केकी आमाकाे लाश हाेटलकाे पलङमा कसरी भेटियाे, बुुझ्न सकेकी थिइनन् । तर आज चलचित्र जत्तिकै छर्लङ्ग भयाे उनकाे मानसमा । उनले पाँच वर्षपछि बाबुले आफ्नाे बिबाह विवेकसङ्ग गराएर सबै जयजेथा छाेरी-ज्वाइलाई जिम्मा लगई सन्यास धारण गरेकाे पनि सम्झिन् । उनका आँखाबाट दुईथाेपा आँशु खसे- एक थाेपामा सहानुभूति जन्य घृणा थियाे त अर्काेमा सम्मानकाे सहानुभूति ।
यतिकैमा फेरि विवेककाे आवाज आयाे-” आराधना ! हैन , कतिबेला घरकाे धन्दा सकेर जाने त सन्ध्या आरती हेर्न । ढिला हुन्न र ।”





