सफाइ


नन्दलाल आचार्य
उदयपुर

बाबुले भनेको कुरा सम्झिँदै रविनले ट्याङ्कीबाट पानी निकाल्न खोज्यो । पानी धमिलो थियो।
“मान्छेको सोच र पानी सधैं सफा हुनुपर्छ ।” बाबुका शब्द कानमा ठोक्किए।
उसले पानीको मूल खोल्यो- जरा, झार, माटोले पुरिएको थियो।
“फोहर पानीले शरीर बिगार्छ, फोहर सोचले जिन्दगी !” बाबुको बोली प्रेरणा बनेर सामुन्ने उभियो।
उसले राम्ररी सफा गर्‍यो । केहीबेरमै पानी स्वच्छ बग्न थाल्यो।
ठ्याक्कै उस्तै थियो उसको मनस्थिति पनि । वर्षौंसम्म रिस, घृणा र संकुचित सोचले जाम भएको । तर आज, बाबुको वचनले उसको भित्री जरा खन्यायो ।
उसले हिजो झगडा परेको मित्रलाई फोन गर्‍यो, “साँच्चै, मन पनि सफा हुनुपर्छ, होइन र ?”
फोनमै त्यो मित्रबाट हल्का हाँसो आयो।
रविन मुस्कुरायो “फोहर सोचले जिन्दगी बिगार्छ ।” अब ऊ यो वाक्य केवल सुन्दैन, अनुसरण गरेर जिउँछ।