समय मौसम!

राधा आचार्य
बुटवल,रुपन्देही
मुहारमा
गुराँस फुलाउँछ
उत्साह जगाउँछ
निरुत्साह हटाउँछ
हृदयको बगैँचामा
ठिङ्ग उभिएका
जिङ्ग्रिङ्ग परेका
बोट मात्रै देखाउने होइन
हरियाली पनि भर्छ
समय मौसम!
कहिले
रापताप
कहिले
फलिफाप
धर्तीको
कुनाकुना छाम्छ
अनि भेटाउँछ
वसन्त
ग्रीष्म
वर्षा
शरद्
हेमन्त
र शिशिरको मुहार
समय मौसम!
शासनको
उत्कृष्ट नमुना हो
समय मौसम!
उही फुल्छ
फुलाउँछ
भुल्छ
भुलाउँछ
डुल्छ
डुलाउँछ
धर्तीका मालीहरूलाई
अधिकारीहरूलाई
कोही
दुई खुट्टे
कोही
चार खुट्टे
प्वाँख भएका
नभएका
उफ्रने
घस्रने
हिँड्ने
कुद्ने सबै
चल्ने
नचल्ने सबै
पहरेदार
तैपनि ढुङ्गामाटो
पानीको महकले
चन्द्रसूर्य
नक्षत्रको चहकले
सुशोभित पार्छ
समय मौसम!
धर्ती एक रङ्गमञ्च!
रङ्गमञ्चमा हेर्दाहेर्दै
उभिन्छ कोही
रुन्छ
रुवाउँछ कोही
हाँस्छ
हँसाउँछ कोही
दर्द देखाउँछ कोही
सर्त लगाउँछ कोही
कर्द भेटाउँछ कोही
ताली बजाउँछ कोही
गाली बर्साउँछ कोही
फेरिइरहन्छ दृश्य
पर्दा बन्द हुन्छ अवश्य
यही छ रसम
समय मौसम!!