समृद्ध नेपालको शपथ


गोबिन्द पौडेल

Gen Z ले अब
पासपोर्ट बनाउन पाउने छैन,
देश छोड्न पाउने छैन,
किनकि यही धरतीलाई
फूलझैँ सजाउने सपना बोकेको छ।

देश विकासका निम्ति
सुत्न पाउने छैन,
उत्पादनका निम्ति
थाक्न पाउने छैन,
ऐश आराममा भुल्न पाउने छैन,
किनकि भविष्य यही मेहनतमा लेखिँदै छ।

सामाजिक मर्यादा उल्लङ्घन गर्न पाउने छैन,
<विकृति–विसङ्गतिमा फस्न पाउने छैन।
हिजोको नेतृत्वले गरेको
सबै व्यथिति ढलीसकेको छ,
अब Alpha ले
उनीहरूलाई आजैबाट पढ्न थालेको छ,
परिवर्तनका सबै पाठहरू पढ्न–देख्न पाइने युग
अब आइसकेको छ।

भाग्ने छुट छैन,
पछि हट्ने ठाउँ छैन।
नेपाललाई समृद्ध बनाउने जिम्मा
तिमीहरूले लिइसक्यौ —
यो इतिहासले लेख्ने
अन्तिम आँसु होइन,
पहिलो मुस्कान बन्ने छ।