सरु दिदी !

रमेशचन्द्र घिमिरे

आत्मबल दरो पारी बस बरु दिदी
तिम्रो रोग पक्कै निको हुन्छ सरु दिदी

मिठा मिठा छन्द खोजी गाउन सक्ने कला
सुनिरहूँ झै लाग्ने तिम्रो सुमधुर गला
वाचन गर काव्य तिम्ले अझै अरु दिदी
नरोकियोस् तिम्रो यात्रा प्यारी सरु दिदी

भाका हाली गाउने चलन हराएथ्यो धन्न
तिमी आयौ यही बेलामा छन्द मिलाई भन्न
पल्टाएर कविताका ठेलीहरू दिदी
गाउनु पर्छ मीठो स्वरमा तिम्ले सरु दिदी

तिमी आफै बिसन्चो छ्यौ भन्दा मन रुन्छ
तिम्लाई सन्चो भए बल्ल हाम्लाई सन्चो हुन्छ
के भनेर तिम्रो लागि पुकार गरूँ दिदी
घाँटी सन्चो भई गाउन आऊ सरु दिदी ।

[कोकिलकण्ठी सुमधुर कविता वाचिका सरु गुरागाईंको स्वास्थ्य लाभको कामनासहित उहाँप्रति समर्पित बालकविता]