साक्षी


सत्यजीत
ललितपुर

कक्षाको पछिल्लो बेन्चबाट हात उठ्यो- “मिस, म दोस्रो घण्टी पढ्दिन,” पूर्णिमाको निराशाजनक स्वरले सबै चकित परे। शिक्षिकाले गम्भीर हुँदै भनिन्, “यदि समस्या छ भने सम्बन्धित सरसँग कुरा राख।”
पूर्णिमा निस्तब्ध बसिरहिन्। दोस्रो घण्टीभरि उनी गायब। कक्षा, शिक्षक, प्रिन्सिपल-सबैलाई रहस्यले घेराबन्दी गरिसकेको थियोे।
प्रिन्सिपलले आकस्मिक बैठक राखे, तर कसैले एक शब्द पनि खोल्न सकेन।
तेस्रो घण्टीमा पूर्णिमा शान्त मुद्रामा कक्षामा प्रवेश गरिन्। सबैको ध्यान किताबमा होइन, उनको अनुहारमा केन्द्रित भयो।
टिफिनमै प्रिन्सिपलले उनलाई बोलाए- “किन यस्तो अनुशासनहीन व्यवहार? कडा कारबाही हुन्छ।”
पूर्णिमाले एकैपटक शिक्षक-शिक्षिकातिर नजर घुमाइन्।
गहिरो सास लिएर भनिन्, “प्रिन्सिपल सर… मैले अनुशासन तोडेकी होइन।”
उनीले हिम्मत जुटाएर मोबाइल निकालिन्, अनि त्यसलाई प्रिन्सिपलको टेबलमा बिस्तारै राखिदिइन्- “अनुशासन त कसले तोडेको छ? फैसला गर्नुहोस्।”
अफिस कक्ष स्तब्ध भयो, सबै चकित। प्रिन्सिपलको अनुहार कालो अन्धकार हुँदै गयो- मोबाइलको स्क्रिनमा देखिएको थियो: अघिल्लो रात नैतिक शिक्षा पढाउने शिक्षकले म्यासेन्जरबाट पठाइएको अश्लील भिडियो…।