साथी

लता के.सी.
तीनकुने, काठमाडौँ

विद्यालयबाट फर्किएपछि रोहणले पढ्ने टेबलभरि किताब फिँजायो र खुरुखुरु गृहकार्य गर्न थाल्यो।लेख्दा लेख्दै झमक्क साँझ पर्यो।
उसले आमालाई सोध्यो , “आज बाबा कतिबेला आउने हो ?”
आमाले मायालु भावमा भन्नु भयो,”बाबा त आज सधैँभन्दा अलि ढिलो आउने रे!बाबु आज खेल्न नगएर किन बाबा खोजेको?”
उसले हैरान हुँदै भन्यो , “आज म खेल्न जाँदिन , आमा । गृहकार्य धेरै छ । एउटा चैँ अलि गाह्रो छ , बाबालाई सोधेर मात्र गर्नु पर्छ।”
आमाले छोराको कपाल सुमसुम्याउँदै भन्नु भयो ,”कठैबरा ! ५ कक्षा पढ्ने बाबुलाई पनि मिस सरले कत्ति धेरै र गाह्रो काम दिएको होला ? म भोलि विद्यालयमा कुरा गर्छु है त !”
ऊ अलि डरायो र भन्न थाल्यो , “नाईँ , नभन्नु आमा नत्र म विद्यालय जान्न । तपाईँजस्तै घरमा बसेर घरकै काम गर्छु ।”
आमा उसको हाउभाउ देखेर हाँस्नु भयो र भन्नु भयो ,”ल तिम्रो गृहकार्य सकेर बाबा नआउन्जेल आराम गर । म भात पकाउन जान्छु है त!” ऊ आमा पछि पछि भान्सामा गयो। आमाको मोबाइल माग्यो । उहाँ सशंकित हुनु भयो। “कतै दुरुपयोग त गर्दैन?”
मोबाइल लिएर ऊ आफ्नै कोठामा आयो।आफ्नै तालमा मख्ख पर्यो ।निकै बेरपछि आमा आएर भन्नु भयो ,”ल बाबा आउनु भयो। पहिला गृहकार्य छिटो छिटो सकाऊ अनि खाना खानु पर्छ।”
उसले तत्कालै जवाफ फर्कायो, “अब सिकाउनु पर्देेन । मैले गरिसकेँ बरू खाना खाऔँ । निन्द्रा लागिसक्यो।”
आमा छक्क पर्नु भयो र सोध्नु भयो , “गाह्रो छ भन्थ्यौ , कसरी गर्यौ त ?”
उसले खुसी हुँदै भन्यो , “आमाको फोनमा भएको गुगल साथीको सहयोगले सकाएँ नि !”