
डा छायादत्त न्यौपाने
आऊ न जून साथी
मैले छुनै नसक्ने गरी
टाढा धेरै टाढा नबस
मेरो आँगनमा आऊ
आऊ साथी मसँगै खेल्न आऊ
म छु नि असजिलो नमानी आऊ
म तिमीलाई सुमसुम्याउँछु
तिमी शीतल स्नेह बाँड्न आऊ
म तिमीलाई मेरै अँगालोमा बेरेर
आँगनदेखि भित्रैसम्म लान्छु
मलाई मन पर्ने साथी तिमी
उज्यालो लिएर सबैतिर आऊ
कस्तो राम्रो छ बानी तिम्रो
मलाई पनि उज्यालो छर्न मन छ
उस्तै बराबर झलल्ल उज्यालो
कतै अँध्यारो नरहने गरी आऊ
मलाई आफ्नै साथी बनाउन आऊ
आँगन, आँगनभरि लहरै
तिम्राे हात समातेर डुल्नु छ मैले
अलमल नगरी घर घरमा आऊ
म तिम्रो स्वागतका लागि आतुर साथी
तिमी मेरो मन-मस्तिष्क दुवैको साथी
तिमी हृदयमा स्नेह खुट्टामा गति लिएर
मुस्कुराउँदै आयौ,आहा कति रमाइलो!





