
प्रेमनारायण भुसाल
गत वर्षको एसइई परीक्षामा सामाजिक विषयमा विद्यार्थीले राम्रो उपलब्धि हासिल गर्न सकेनन् । ग्रामीण क्षेत्रमा अङ्ग्रेजी, गणित र विज्ञान विषयको उपलब्धि विगतमा त्यत्ति सन्तोषजनक नरहे पनि सहरी क्षेत्रमा यी विषयको उपलब्धि स्तर राम्रो नै रहँदै आएको थियो । पछिल्लो समय अर्थात् नयाँ पाठ्यक्रम लागु भएपछि सामाजिक विषय नेपाली माध्यममा पठनपाठन गर्न थालियो । नेपाली समाजका रीतिथिति, प्रथा र प्रचलनलाई नेपालीमै बुझ्नु अर्थपूर्ण पनि हुन्छ । सैद्धान्तिक रूपमा यसो भनिए पनि नतिजा हेर्दा सहरी क्षेत्रमा सामाजिक विषय फलामको चिउरा बन्न थालेको आभास भयो । त्यसो त ग्रामीण क्षेत्रमा पनि सामाजिकमा उल्लेखनीय उपलब्धि देखिएको छैन । सहरी क्षेत्रको समस्या भएकाले होला नतिजा प्रकाशित भएपछि सामाजिक विषयबारे अनेकानेक टिप्पणी हुन थाले । केहीले माध्यमलाई दोष दिए त केहीले सामाजिक विषय शिक्षण गर्ने शिक्षक नै उपलब्ध नभएका बेला भूगोल, राजनीतिशास्त्र, समाजशास्त्र, वाणिज्य र अर्थशास्त्रको समेत सम्मिश्रण भएको सामाजिक विषय विद्यालय तहमा लागु गर्नु नै उपयुक्त थिएन भनी तर्क प्रस्तुत गरे । सर्वत्र आलोचना हुन थालेपछि पाठ्यक्रम विकास केन्द्रले शिक्षा मन्त्रालयको निर्देशन अनुसार पाठ्यक्रमलाई छरितो बनाउने जानकारी दिइसकेको छ ।
पाठ्यक्रम विकास केन्द्रका अनुसार १० कक्षाका विद्यार्थीलाई आवश्यक पर्ने जति सूचना सामाजिक विषयमा समावेश गरिएको छ । यो विषय लागु गर्नुभन्दा अगाडि परीक्षणसमेत गरिएकाले पाठ्यक्रम वैज्ञानिक नै रहेको तर्क गरिरहेको छ । कक्षाकोठामा शिक्षण गर्ने शिक्षकका अनुसार विद्यार्थीले भूगोल अन्तर्गत विश्व र अमेरिकाका भौगोलिक विशेषता एवं संरचनाबारे सिक्न गाह्रो मानिरहेका छन् । यस्तै नागरिक शिक्षा अन्तर्गत पालिका, प्रदेश र केन्द्र सरकारका गठन, अधिकार र कर्तव्यका कुरा कठिन लाग्ने गरेका छन् ।
हुन पनि राज्यका प्रमुख तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबारे शिक्षित नागरिकलाई जानकारी हुनुपर्छ नै । यसो भन्दैमा १५/१६ वर्षका कलिला बालबालिकाले संविधानका धारा, कानुनका दफा, न्यायपरिषद् गठनका कुरा, न्यायाधीशका योग्यता एवं प्रदेश र स्थानीय तहका कार्यविभाजनका कुरासमेत कण्ठस्थ गर्नु पर्छ भन्ने जायज होइन । सामाजिक विषयमा अनेक क्षेत्रका विषयवस्तु समावेश गरिनु राम्रो हो तर विविध विषयवस्तुको संयोजन गर्ने नाममा लोक सेवाको खरिदार पदका लागि आवश्यक पर्ने सूचनाको सङ्ग्रह गरिनु मनासिब होइन । यसैको परिणाम सामाजिक विद्यार्थीको रुचिको विषय बन्न सकेको छैन ।
कसरी रुचिकर बनाउने सामाजिक विषय ?
सामाजिक विषय समाज, सामाजिक प्रथा, परम्परा, रीतिरिवाज एवं मूल्यमान्यतासँग सम्बन्धित विषय हो । यसले सामाजिक मूल्यसमेत सिकाउने भएकाले सामाजिक शिक्षामा मानव मूल्यसमेत जोडिएको छ । यसको तात्पर्य समाजमा मानवको अस्तित्व, मानवले गर्नुपर्ने योगदान र मानव अधिकारका कुरासमेत समावेश छन् भन्ने सुनिश्चित पनि हो । सामाजिक शिक्षाको मौजुदा पाठ्यक्रममा सबै कुरालाई जोड्ने प्रयास गर्दा उपलब्धि हासिल नहुने तर ठुलो भारी बोक्नुपर्ने अवस्था सिर्जना भएको हो । सामाजिक विषयको पाठ्यक्रम परिमार्जन र निर्माण गर्ने क्रममा एकीकृत अवधारणा आत्मसात् गर्नु आवश्यक हुन्छ । यसले सामाजिकलाई छरितो मात्र नभएर रुचिकर र पठनीय बनाउँछ । सबभन्दा पहिला स्थानीय तहसँग सम्बन्धित सम्पूर्ण विषयवस्तु सामाजिक शिक्षाबाट अलग गर्नु पर्छ । स्थानीय तहसँग सम्बन्धित विषयवस्तुको जानकारी, स्थानीय तहका संरचना एवं काम कर्तव्यका कुरा स्थानीय पाठ्यपुस्तकबाट प्राप्त गर्ने वातावरण बनाउनु पर्छ । यसले विषयवस्तुलाई छरितो बनाउँछ । यस्तै प्रदूषण, साहित्यकार परिचय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय व्यक्तित्वका जीवनीका कुरा नेपाली र अङ्ग्रेजी विषयमा सिकेका हुन्छन् । भाषा विषयमा ती विषयवस्तुबारे जान्न जति सजिलो हुन्छ, सामाजिकमा त्यत्ति सहज नहुन सक्छ ।
जीवनी, चिठी, दैनिकी र निबन्धात्मक किसिमका प्रतिवेदन, टिप्पणी र निवेदनसँग सम्बन्धित विषयवस्तु भाषा विषयसँग एकीकृत गर्ने हो भने विषयवस्तुको आकारप्रकार छरितो त हुन्छ नै यसले विद्यार्थीमा हुनुपर्ने सक्षमतासमेत सुनिश्चित गर्छ । सामाजिक विषय ज्ञान, सिप, अभिवृत्ति, मूल्य र तत्परताको सिद्धान्तसँग प्रत्यक्ष रूपमा सरोकार राख्ने विषय हो । संज्ञानात्मक विषयवस्तुका अतिरिक्त सिप र अभिवृत्तिसँग जोडिएका क्रियाकलापलाई परियोजना कार्यका माध्यमबाट सम्पन्न गर्ने पद्धति विकास गर्ने हो भने स्थानीय ज्ञानको विश्वव्यापीकरणका साथसाथै वास्तविक मूल्यबोध गर्नसमेत सहजता सिर्जना हुन्छ । यसले पाठ्यघण्टाका अतिरिक्त तनावलाई समेत व्यवस्थापन गर्न सहयोग गर्छ ।
शिक्षकलाई तालिमको व्यवस्था गरी सामाजिक विषय भाषिक सिप एवं शुद्धताभन्दा मानवीय मूल्य, सामाजिक संस्कार र राष्ट्रिय/अन्तर्राष्ट्रिय नागरिक बन्न सक्षम बनाउने विषय हो भन्ने बुझाउनु आवश्यक छ । यसो गर्न सकियो भने सामाजिक छरितो विषय मात्र होइन, विद्यार्थीका लागि रुचिकर र प्यारो विषय बन्न सक्छ । वर्तमान पाठ्यक्रमले अपेक्षा गरेका सक्षमता पनि सहज रूपमा हासिल गर्न सकिन्छ ।
के प्रयास गरिएको छ त ?
सामाजिक विषय जटिल भयो भनेर पटक पटक विभिन्न ठाउँमा आवाज उठ्दै आएको हो । शिक्षकका अनुसार जटिलताको मुख्य कारण सिर्जनात्मक र परियोजना कार्यसमेत कक्षाकोठामा सम्पन्न गराउने पद्धति र सामाजिकलाई सूचनाको भण्डार मात्र बनाउने पाठ्यक्रमको उद्देश्य हो । सामान्य ढङ्गले हेर्दा केही विषयवस्तुलाई काँटछाँट गरी पाठ्यवस्तुको आकारगत संरचनालाई सङ्कुचित गर्नु नै सामाजिक विषयको समस्या समाधान गर्नु हो भन्ने बुझाइ छ । यस बुझाइले एकातिर विद्यार्थीको तहगत सक्षमतालाई ध्यान दिएको छैन भने अर्कातिर नेपाली, अङ्ग्रेजी र स्थानीय पाठ्यक्रममा सिकिसकेका कुराको पुनरावृत्तिलाई व्यवस्थापन गर्ने उद्देश्य राखेको देखिँदैन । फलतः पाठ्यक्रम र पाठ्यपुस्तकमा पाठ्यवस्तु धेरै भए, अतः पाठ्यपुस्तकलाई छरितो बनाउनु पर्छ भन्ने उद्देश्यका साथ पाठ्यक्रम विकास केन्द्र अप्ठ्यारा विषयवस्तुलाई पाठ्यपुस्तकबाट हटाउने र सरल विषयवस्तुबाट बढी प्रश्न सोध्ने गरी विशिष्टीकरण तालिका परिवर्तन गर्ने काममा लागेको छ । १०–१५ वर्षपछिको अवस्थालाई आकलन गरी अनुसन्धानका आधारमा पाठ्यक्रम निर्माण गरिन्छ। क्षणिक समस्या समाधान गर्ने नाममा क्षेत्र र विस्तार व्यवस्थित गरी राखिएका कुरामध्ये केहीलाई हटाउने काम गरियो भने त्यसले समग्र सिकाइ उपलब्धिलाई असर पार्छ।
विषयवस्तु छोट्याउनु आफैँमा समाधान होइन, सिप सिकाइ नभए पनि परीक्षामा राम्रो अङ्क ल्याउन सक्ने बनाउनु वा अवस्था सिर्जना गर्न विशिष्टीकरण तालिका परिवर्तन गर्नु पनि वैज्ञानिक काम होइन । विद्यार्थीका समस्या समाधान गर्न सरकार र पाठ्यक्रम विकास केन्द्र लाग्नु अत्यन्त सराहनीय काम हो । यस्तो काम गर्दा लट्ठी पनि नभाँचिने सर्प पनि मर्ने किसिमले गर्नु बुद्धिमानी हो । हतारमा गरिएका कामले फुर्सदमा पछुताउने अवस्था सिर्जना नहोस् भन्ने हो भने माथि सुझाइए अनुसार पाठ्यक्रमलाई आवश्यक संशोधन र परिमार्जन गर्नैपर्ने अवस्था देखिन्छ ।
पाठ्यक्रमले पार्ने दीर्घकालीन प्रभावलाई अहिले त्यति गम्भीर रूपमा लिइएको देखिँदैन । यसैले शैक्षिक सत्रकै बिचमा पाठ्यवस्तु हेरफेर हुने, सामाजिक सञ्जालमा उठेका नाराका आधारमा विषयवस्तु हटाउने र राख्ने काम गरिएको छ । सञ्जालकै भरमा पाठ्यक्रमलाई छरितो बनाउने नाममा शृङ्खला भत्किने गरी विषयवस्तुको काँटछाँट गरियो भने समग्र पाठ्यव्रmम पुनः हलो काटी मुङ्ग्रो बन्ने सम्भावना रहन्छ । अहिलेको प्रयासले यसप्रकारको अवस्था नआउला भन्न सकिँदैन ।
पाठ्यक्रम राष्ट्रिय आवश्यकता, समाज मनोविज्ञान एवं विद्यार्थीको रुचि र युगीन परिवेशसँग सम्बन्धित हुन्छ। समय समयमा परिवेश र आवश्यकता परिवर्तन हुने भएकाले पाठ्यक्रममा परिमार्जन र परिवर्तन पनि आवश्यक हुन्छ। यसैले पाँच वर्षमा पाठ्यक्रम पुनरवलोकन र १० वर्षमा परिवर्तनको अवधारणा राखिएको छ । त्यसो त वैज्ञानिक आविष्कार, सामाजिक परिवर्तन र अन्य कारणले सिर्जना भएका विविध गतिविधिलाई समावेश गर्नुपर्ने अवस्थामा शिक्षकलाई नै जीवित पाठ्यक्रमका रूपमा परिचालन गर्नु पनि आवश्यक हुन्छ । यस अर्थमा पाठ्यक्रम परिमार्जन र परिवर्तनका काम निरन्तर भइरहने क्रियाकलाप हुन् । हरेक विषयमा सुधारका क्षेत्र पर्याप्त मात्रामा रहेका छन् । पाठ्यक्रम विकास केन्द्रले आंशिक रूपमा ती कामलाई प्राथमिकतामा राखी सम्बोधन पनि गर्दै आएको छ ।
टड्कारो रूपमा उठेको मुद्दा सामाजिक विषयसँग सम्बन्धित भएकाले यस विषयमा रहेका उपलब्धि, पाठ्यभार र पाठ्यवस्तुलाई नै संशोधन र सङ्कुचित गर्नुभन्दा अगाडि समग्र विद्यालयस्तरीय पाठ्यक्रमको अङ्गका रूपमा सामाजिक विषयलाई स्वीकार गरी अन्य विषयसँग एकीकृत गर्ने प्रयास आवश्यक छ । सामाजिक मूल्य र संस्कारका कुरालाई प्रत्यायोजन गरी सामाजिक विषयवस्तुलाई छरितो सामयिक र रुचिकर बनाउन सकिन्छ।





