सास्ती


भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

“समयमै विचार नगर्दा दु:ख पाइने रहेछ ।” घनश्यामले भन्यो।
रामविलास समाजमा अलि सक्रिय देखिन्छ । टाठोबाठो भएकाले सबैले उसलाई अघि सार्छन् । ऊ अडिग छ, आफ्नो पार्टीको सिद्धान्त छोड्नु हुँदैन भन्नेमा विश्वास राख्छ ।
घनश्याम भने फरक स्वभावको छ । ऊ परिवर्तन खोज्छ अनि कर्ममा विश्वास राख्छ । फरक सिद्धान्त बोकेका दुबै मिलेता पनि यदाकदा विचारको द्वन्द चाहिँ परिरहन्छ ।
रामविलासले, “सङ्गत ठुलैको गर्नुपर्छ । कतै भनसुन गरेर पद पड्काउँन पनि पाइने, मान पनि पाइने, शानै फरक ?” ऊ मेरो गोरूको बाह्रै टक्का जसरी रवाफिलो स्वरले बोल्यो।
घनश्यामले, “हो, त्यहीँ भएर त हामी पछि परेका छौँ । राम्रोलाई राम्रो भन्न सकिएन भने आफैँ खाडलमा पर्दा पनि थाहा हुँदैन । परम्परागत सोचलाई परिष्कृत गरेर नयाँ दिशा दिनु आवश्यक हुन्छ । एउटा कुहिएको आलुले बोराभरिको आलु कुहियाउँछ, सङ्गत गर्न पनि विचार गर्नुपर्छ ।” ऊ सोचेर बोल्यो।
रामविलासले, ” आए आँप गए झटारो जेसुकै भन, आफ्नो बाटो छोडिन्न क्यार !” उसले धाक जमाउँदै स्पष्ट पार्यो ।घनश्याम केही व्याकुलता देखाउँदै, ” आँफुले पालेको कुकुरले आँफैलाई टोक्छ भन्थे कसैको ब्रान्ड होइन व्यवहार हेर्ने हो नत्र कामको सास्ती उत्ति, खोई कुरो बुझेको ?” उसले नजर जुधाउँदै प्रश्न गर्यो ।