
कुमार काफ्ले
“आमा, हामी पनि यस्तै फूलबारी बनाउने न है ?” याङ्जीले हातमा एउटा गुलाबको फूल टिप्न
खोज्दै भनिन्।
फूल टिप्न खोज्दा काँडाले उनलाई छोच्यो। घोचेको ठाउँबाट ह्वालह्वाल्ती रगत आयो।
“ओहो! याङ्जी तिमीले फूल नटिप्नुपर्ने! हेर हेर कति रगत आयो!” आमाले रगत आएको औंला
समात्दै भन्नुभयो।
रगत आए पनि याङ्जी रोइनन्। बरु अझ जिज्ञासु हुँदै सोधिन्, “आमा आमा, यति राम्रो
फूलको बोटमा किन काँडा भएको होला है ?” “छोरी यता सुन त, तिमीलाई कसैले बिना
कारण दु:ख दियो,सतायो भने तिमी के गर्छ्यौ ? भन त।”
“म त, पाईया गर्दिन्छु …..।”
“हो, त्यसैगरी यो धरतीका सबै जीवजन्तु र वनस्पतिलाई आफ्नो सुरक्षा गर्ने अधिकार हुन्छ,
बुझ्यौ?”
“अनि फूलले पनि आफ्नो सुरक्षा आफैँ गर्छ त?
कस्तो अचम्म है?”
“सकेसम्म आफ्नो सुरक्षा जसले नि गर्छ नि!
सक्नु नसक्नु त्यो बेग्लै कुरा भो।”
“आमा, तपाईँलाई कति धेरै कुरा थाहा छ है ?”
म कहिले तपाईँ जस्तै जान्ने बुझ्ने हुन्छु ?”
याङ्जीले लाडिँदै सोधिन्। “मेरी छोरी धेरै पढेर म भन्दा नि कति धेरै जान्ने बुझ्ने हुन्छिन् नि !” आमाले उनको ढाडमा थप्थपाउँदै बुझाइन्।
“धेरै पढ्यो भने जान्ने होइन्छ हो आमा ?”
“हो त नि ! पुस्तकमा कति धेरै ज्ञान गुणका कुरा हुन्छन् । मन लगाएर किताब पढ्नुपर्छ; नबुझेको
कुरा सर, मिस र आफूभन्दा ठूलाबडालाई सोध्नुपर्छ है छोरी, बुझ्यौ नि ?”
“बुझेँ आमा, अब म पनि भोलिबाट जिले नि दिदीसँग स्कूल पढ्न जान्छु ल ?”
यही बेला घण्टीको टिङ्ग्रिङ् टिङ्ग्रिङ् मधुर आवाज बज्न थाल्यो । याङ्जीकी दिदी सरस्वतीको वन्दना गर्न् थालिन्, सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे।। घण्टीको आवाज र दिदीले गाएको वन्दनाको सुमधुर आवाजले याङ्जी निद्राबाट झल्यास्स ब्यूँझिइन्।
हत्तपत्त उठेर उनले हातमुख धोइन् र हात जोडेर “सरस्वती मया ….” भन्दै वन्दना गाउन
थालिन्।
त्यसपछि अघिको सपना सम्झिदै आमालाई सुनाउन थालिन्, “है आमा, मैले नि अघि
……….।”
याङ्जीको सपना ध्यान दिएर सुनिसकेपछि आमाले भनिन्, “छोरी सुन्दर सपनाहरू देख्नु
आफैँमा एकदम सुन्दर कुरा हो । सपना पूरा गर्न इमानदार भएर, लगनशील भएर निरन्तर
लागिपर्नु पर्छ है ?”
“हुन्छ आमा, म हजुरले भनेजस्तै गर्छु है।”





