“सेवा”


तुलसी पण्डित

हजुर बाबा भन्नुहोस् न धर्म र विज्ञानमा कुन ठूलो ?
नातिको यो अप्रत्यासित प्रश्नले हजुरबाबाको अनुहारमा एक्कासि परिवर्तन आयो । सोच्न थाल्नु भयो । विज्ञान सत्य हो । तर धर्मप्रति यिनीहरुको वितृष्णा जाग्नु पनि हुँदैन । यो मानिसलाई सत्मार्गमा हिँडाउने अस्त्र हो ।
हजुरबाबाले सोच्दै भन्नु भयो। “जाउँ भित्र गएर पानी लिएर आउँ ?”
” ल हजुरबाबा पानी।”
“उ त्यो सूर्यलाई हामी बिहान उठ्ने बित्तिकै के गर्छौ ? ल गरेर देखाउँ ।”
“नातिले सूर्यतिर हेर्दै पानी चढायो र नमस्कार गर्यो ।”
“किन तिमीले सूर्यलाई नमस्कार गर्यौ ?”
” उहाँले हाम्रो ठूलो सेवा गर्नु भएको छ।”
“के सेवा गर्नु भएको छ नाति ?”
“हजुरबा उहाँले हामीलाई प्रकाश दिनु भएको छ जसले गर्दा हामी यताउता हिड्न सक्छौँ । अझ हजुर बा सूर्य न भए यो सृष्टिको कल्पना गर्न पनि सकिँदैन रे । न मान्छे न जनावर न बोटविरुवा कोही रहदैन।”
“हो ठिक भन्यौ । आखिर जसले हाम्रो लागि राम्रो काम गर्छ हामी उसलाई भगवानको रुपमा मान्छौँ । अझ तिनै हाम्रो लागि देवता भए । जसरी हामी सूर्यलाई देवता भन्दै पानी चढाउछौँ ।”
“अनि हजुर बाबा महादेव, विष्णु ,लक्ष्मी, सरस्वती कसरी देवता भए ?”
“हेर ती पनि कुनै कालखण्डका मान्छे नै हुन् । उनीहरुले त्यो बेलाका मानिसको ठूलो सेवा गरे । त्यसैले उनीहरुलाई त्यो बेलाका मानिसले देवताका रुपमा मान्दै आए । अनि हामी पनि आज सम्म ती त ठूला व्यक्तित्व रहेछन् भन्दै पूजा गर्छौ।”
“हजुरबा मानिस पनि कसरी भगवान हुन्छ ?”
” हेर गौतमबुद्ध को हुन् ?” “ती त भगवान हुन् ।” “अनि ती मान्छे होइनन् ?”
“हो हजुरबा उनी त हाम्रै नेपालमा जन्मेका हुन्।”
उनी किन भगवान भए ? ” सबैको भलो हुने काम गरेर ।”
“अनि मान्छे भगवान भएनन् त ?”
” भए , आखिर धर्म सेवाको कदर हो भने विज्ञान सत्यको बिज रहेछ है हजुरबा ।”