
पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा
हजुरबाकाे बाङ्गाे लठ्ठी,
उकालीमा टेक्नुहुन्छ,
लड्छु भनी वरालीमा,
भर लिँलै छेक्नुहुन्छ।
घाँसभित्र सामान झरे,
वल्टाई पल्टाई भेट्नुहुन्छ,
रिस उठ्दा गाईबस्तु,
मलाई पनि सेक्नुहुन्छ।
कखगघ अआइई,
धुलाेमा नै लेख्नुहुन्छ,
काँडाकुँडी लहरालाई,
हिर्काई घाँटी रेट्नुहुन्छ।
लट्ठी हराउला भनी,
दुई घुँडाले चेप्नुहुन्छ
म जिस्किदै पर भागे,
टेक्दै टेक्दै भेट्नुहुन्छ।
अन्न पात फलफूल,
पाेका झुण्डियाई खेप्नुहुन्छ,
दिक्क लाग्दा एकान्तमा,
यसमै चिउँडाे थेग्नुहुन्छ।
त्याे लठ्ठीकाे कथा सुनाई,
मलाई पनि बेच्नुहुन्छ
बेलठ्ठीका मान्छेहरू,
आलाे काँचाे ठेट्नुहुन्छ।





