हलो


तुलसी पण्डित

“ल हेर यो के गरेको अब समाजले हाम्रो उछिट्टो गर्नेछन्।”
हर्के एक तमासले बिहान देखि खेत जोतिरहेको थियो । उसका भावनाहरू तरङ्गित भइ रहेका थिए । सोच्थ्यो।
अब मेरो दुःखका दिन सकिदैछन् ।
हो उसको छोरो शहरतिर बसेर पढेको थियो । त्यही छोरो पढाउन उसले अर्काको खेत ठेक्कामा कमाएको थियो । खास खेतमा दुःख गरेर के आउँछ र । साहुलाई ठेक्का बुझाउनु पर्यो । हिउँदे खेतको भर छैन । पानी न भएपछि खेतीपाती हुँदैन । तै हुन्छ कि भनेर खेती गर्यो दैव भरोसा भन्यो लगानी गर्यो । कैले भइ हाल्छ कहिले हुँदैन।
उसले आफ्नो छिमेकी देशलाई सम्झ्यो।
उसले अर्काको देशको नदी किनेर सिचाइको राम्रो प्रबन्ध गरेको छ । जसले लाखौँलाख क्विटल अनाज , तरकारी र फलफूल बेच्छ । उसले आफ्नो देशको नेताहरूलाई सम्झ्यो।
उहीँ पैसाको लागि मात्र जन्मेका रहेछन् । यस्तै सोचमा छोरो आइ पुग्यो ।
“बाबा खाना खान जानु ।”
“ए बाबु शहरबाट कति खेर आइपुग्यौ ?”
“भर्खरै आएको बाबा । घरमा खाना तयार छ ।”
“ल बाबु गोरु यताउता जाला राम्रोसँग हेर्नु ?”
हस् बाबा ।
हर्के खाना खाएर आयो । उसले छोरोले हलो जोती रहेको देख्यो।
“छोरा तैँले यो के गरेको । यति धेरै पढेको मान्छेले हलो जोत्न हुँदैन भन्छन् ।”
“त्यही हलो जोतेर कमाएको पैसाले हामीले पढ्न हुने तर हामीले त्यही हलो समात्न न हुने पनि हुन्छ र बाबा ?”