हातेमालाे

टीकाराम जाेशी, टीकापुर

हरि भाइ ! हामीलाई याे घाम र पानी लाग्ने ठाउँमा राखेर ती मान्छेहरु कता लागेछन् ?
राते दाइ ! तिनीहरुले हामी जस्तै जुम्ल्याहाहरुलाई ठाउँ ठाउँमा राख्दै हिँडेकाछन्।
हाे र ! याे सडकछेउकाे गर्मीले जिउ फतक्क गल्ला जस्ताे भै सक्यो!
उनीहरु आपसमा कुराकानी गर्दै थिए। बाटाेमा हिँडिरहेका दुई जना स्कुले केटाहरु तिनीहरूकाे छेउमा राेकिए।”हेर् न साथी ! याे बाकसमा के लेखेकाे छ ?” एउटाले भन्याे।
” हरियो बाकसमा कुहिने फाेहर , राताे बाकसमा नकुहिने फाेहर लेखेकाे छ। ” बिस्तारै पढ्दै अर्काेले भन्याे।
“भनेपछि फाेहाेरलाई यी बाकस भित्र राख्ने हाे,हाेइन र?”
“हाे।”
“मान्छेले गरेकाे कुरा सुन्याैँ भाइ ! मान्छेले हामीलाई फाेहर व्यवस्थापन गर्नका लागि जन्माएकाे रहेछ। अब हाम्राे रातदिनकाे बास बस्ने ठाउँ याे नै हुने भाे ! ”
“ओहाे ! मान्छेले याे धरती मातालाई पहिलेका झैँ सुन्दर बनाउने उपायकाे खाेजी गरेछ। हाम्रो जन्म त सार्थक हुने भाे।”
यति कुरा गरेर दुवैजना माैन भए । उनीहरुकाे उत्सुकता चरमाेत्कर्षमा पुग्यो जब कसैले हिँडिरहेकाे कारभित्रबाट पलास्टिककाे पाेकाे उनीहरुतिर हुर्यायाे।
“मान्छेले हात बनाइ दिएका भए पाे ! “उनीहरुले एक अर्कालाई असहाय नजरले हेरे ।