“हामी बचाऔं सिमसारलाई”

घनश्याम रेग्मी

हाम्रा नदी हुन् अनमोल अङ्ग
भर्छन् यिनैले सय लाख रङ्ग
पानी पिएका यसले जिएका
माटो सँगैमा सपना बुनेका।

पानी र यो जीवन एक पाना
छोडेर बन्दैन कुनै सुहाना
छन् जीव कैयौं जल साथ बाँच्दै
हामी सबै छौ “सिमसार ” मास्दै।

पानी र यो जीवन जोडिएको
हो मासु औ रक्त कि झैं भएको
माछा चरा बोट र अन्न पानी
आधार हाम्रा “सिमसार” जानी।

छन् धान हाम्रा सिममै फलेका
मान्छे सबै छौँ यसमै खिलेका
यो पृष्ठ हो सृष्टि र सिर्जनाको
पानी र माटो जन जीविकाको।

छन् हाँस पानीसँग खेल खेल्दै
कीरा फटयांग्रा पनि खोज गर्दै
हाम्रा जलेवा जलमा भुलेका
ताहीँ मलेवा धुनमा खुलेका।

दोसाँध पृथ्वी जलको यही हो
छायाँ बनी जीवनको चलेको
मायाँ मलाई गर ए मनुष्य
आनन्द भेट्छौ यसमै अवश्य।

पानी रसायो मन भित्रबाट
माटो भिजायो कुन छिद्रबाट
तप्के यहाँ जीवनका इरादा
हामी बचाऔं सिमसार हाम्रा।