हारजित

सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम

“अति नै भो, अब केही गर्नैपर्छ ।” पशुराज सिंह बिरोधको गुप्त बैठकमा स्यालले प्रसङ्ग कोट्ट्याए।
अन्य पशुहरु नतमस्तक भए, उनीहरु भयभीत थिए । निकैबेरसम्ममा पनि कहिँबाट प्रतिक्रिया नआउँदा स्यालले पुनः यथार्थ खोले – “साथी हो ! डराउनु नै हाम्रो कमजोरी हो।”
“त्यसो भए के गरौँ त ?” भालुले लाचारी उभ्याए।
“हामी सल्लाह गरेर समाधान निकालौँ।” स्यालले हौसाए।
उनीहरुले सल्लाह गरे, अन्त्यमा सिंहको हत्या गर्ने निष्कर्षमा पुगे। योजना अनुरुप उनीहरु जानै लागेथे तत्कालै हात्ती आइपुगे। उसले योजना सुनेपछि सोझै खारेज गर्दै चेतावनी दियो – “हत्या गर्नु अपराध हो।”
सबै पशुहरु अलमल्ल परे। स्यालले स्थितिलाई संज्ञानमा लिँदै जान्न खोजे – “त्यसो भए के गर्नु त!”
“उसलाई हराउनुपर्छ।”हात्तीले सुझायो।
“कसरी?”
हात्तीले सबैलाई एकसरो हेर्यो र गम्भीर हुँदै भन्यो – “हामीले हाम्रो मनको डरलाई जित्यौँ भने ऊ आफैँ हार्छ ।”