अक्षरको दियो

 


अन्जु शर्मा
रातोपुल

पार्कमा मान्छेको भिड जम्मा भयो।
मान्छेहरूले पार्कको सालिकमा धमाधम माला लगाइदिन थाले।
हजुरबाको हात समाएर पार्कमा गएको मन्टुले छक्क पर्दै सोध्यो “हजुरबा ! यो बूढो मान्छेलाई किन माला लगाइ दिएका ?”
“बाबु! उनी आदिकवि भानुभक्त हुन्। उनले रामयणलाई नेपालीमा उल्था गरेर नेपाली भाषा साहित्यको उथ्थान गरेका थिए। आज उनको जन्मदिनमा सबैले माला लगाएर सम्मान गरेका हुन्।”
“हजुरबा ! अनि भानुभक्तलाई चाहिँ कसले सिकाएको थियो ?”
” घाँसीले।”
” कसरी ?”
“एकदिन भानुभक्त बन घुम्न गएका थिए रे! बनमा असाध्यै गर्मी पनि रहेछ। यस्तो गर्मीमा तिमीले यतिका घाँस किन काट्यौ ?” घाँसीलाई सोधेछन्।
घाँसीले पसिना पुछ्दै भनेछ ! “यो जन्ममा घाँस बेचेर कुवा खनाएँ भनेँ अर्को जन्ममा मेरो पनि इतिहासमा नाम रहन्छ।”
“ओहो ! यस्तो अनपढ र गरिबले पनि मेरा आँखा खोलिदियो।” भन्दै घाँसीको प्रेरणाले भानुभक्तले हामीलाई रामायण पस्केका हुन् रे !”
हजुरबाका कुरा सुनेर मन्टुले गोजीबाट कलम निकाल्यो। सालिक अगाडि उभिएर “भानुभक्त ! म पनि तिमी जस्तै अक्षरको दियो बाल्ने छु।”