
लक्ष्मीप्रसाद पौडेल
“आदिकवि ज्यू ! आज तपाईँको जन्मदिवस हो । के तपाईँ फेरि नेपाल आउँन चाहनुहुन्छ ?”
मेरो प्रश्नमा खै के देखे, भानुभक्त खित्खिताएर हाँसे र भने, “म त हरेक वर्ष आउँछु, तर तिमी भेट्दैनौ, पहुँच नै छैन तिम्रो !”
म निरुत्तर रहेँ।
“तपाईँले नेपाली भाषालाई जनजनसम्म पुर्याउनुभयो, आज त्यो भाषा कहाँ छ ?” मैले प्रसङ्ग बदलेँ।
“भाषा त जनताकै मुखमा छ, तर कविहरू अराजक भएका छन् ! आफू अनुकूल अर्थ्याउँछन्।” उनले मुस्कुराएर भने।
“तपाईँले अमर बनाएका घाँसीहरू कता गए अहिले, देख्दिन त ?”
“उनीहरू अझै बाटो बनाइरहेका छन् । कुवा खनिरहेका छन् । घाँस काटिरहेका छन् । तर पहिले घरको कुदाल बोक्थे । गाउँको बाटो खन्थे । अहिले पासपोर्ट बोक्छन् । परदेशको सडक बनाउँछन्, जहाँ उनीहरूका आफ्ना हिँड्न पाउँदैनन् ।”
म केहीबेर चुप लागेँ । म रोकिएको देखेर भानुभक्त बोले, “सकियो तिम्रो प्रश्न ? लेखक हुँ भन्छौ, कति प्रश्न मात्र गर्छौ ?
तर मेरो प्रश्न सकिएको थिएन, तैपनि मैले छोट्याउने विचार गरेँ, “आदिकविज्यू ! अब अन्तिम प्रश्न ! तपाईँपछि पनि धेरै लेखक, कवि जन्मिए, तर समाज अझै किन अँध्यारो छ ?”
उनले लामो सास फेरे, र भने, “जब कलम सत्यभन्दा सम्बन्धको पक्षमा उभिन्छ, तब शब्दहरू त बढ्छन्, तर अक्षरको उज्यालो घट्छ । यहाँ भएको यही हो ।”
मेरो मनको खुल्दुली सकिएको थियो । तर उनले “सब यसैमा छ, पढ्ने गर ।” भन्दै आफ्नो प्रश्नोत्तरमाला किताव हातमा थमाएर अलप भए।





