
अन्जु शर्मा
रातोपुल
हावा हुण्डरीले आकाश धुलाम्मे छ।
सुत्केरी श्रीमती बचेराको सुरक्षार्थ गुँडमा बस्न बाध्य छे। भोक सहन नसकेर श्रीमतीले चारोको अपेक्षा गरी। उ मर्द हो।उसले ढाडस दिँदै भन्यो, “चिन्ता नगर , जसरी भएपनि म चारो खोजेर ल्याउछु।”
उ भुर्र उडेर नजिकैको घरको रक्ष्यानमा पुग्यो । अनि काँ काँ गर्दै चारो टिप्न थाल्यो । घरको बरण्डामा कैद भएको सुँगा उसलाई देखेर रूँदै अनुरोध गर्न थाल्यो।
“कौवा दाइ! मेरी श्रीमती बच्चा कोरल्न गुँडमा बसेकी थिइ। म चारोको खोजीमा आउँदा यो अपराधी मान्छेले मलाई पिंजडामा बन्द गरिदियो । मेरा परिवार भोकले मरेभने मेरो अस्तित्व खतम हुन्छ। केही चारो आँगनमा सुकाएको बिस्कुनबाट उठाएर लगिदेउ।”
कागलाई दया लाग्यो । उसले सहमति जनाउँदै बिस्कुन टिप्न थाल्यो । त्यहीँ बेला हातमा गुलेली बोकेको मान्छे फुत्त बाहिर निस्कियो। “ओहो ! कागले बिस्कुन नष्ट गरेछ।” उसले कागलाई ताकेर गुलेली हान्यो। काग फट्फटाउँदै मर्यो।गुँडमा बच्चा रूँगेर भोक प्यासले तड्पिएर बसेकी श्रीमती ,काँ काँ गर्दै गुँड छाडेर चारोको खोजीमा भुर्र उडी।
गुलेली बोकेको मान्छेलाई धम्कियाउँदै उसले भनी “तुच्छ मनुष्य ! मेरो अस्तित्वको बचावट मेरो प्रमुख दायित्व हो ।”





