
मुक्ति पोखरेल
“हजुरबा आज हजुर कहाँ जाने ?” ७ वर्षको नातिले सोध्यो । धर्मानन्दले जबाफ दिए “म आजबाट आफ्नै घर जाँदैछु बाबु।” “हजुरको घर कहाँ छ?” “धेरै पर ” यसरी हजुरबा र नातिको धेरैबेर सम्बाद चलिरह्यो । नाति सोधिरहनेँ , उता पचासी वर्षका हजुरबाका आँखा रसाइरहेका थिए तर त्यो अबोध बालकलाई के थाहा हजुरबा कहाँ जाँदै छन् ।
केही बेर पछि पितृभक्त आउँछ । बुढा आफ्नो दानाको माला , पहेँलो धोती र पूजाका सामान ठिक पार्दै थिए । उसले भन्छ ” छिटो गर्नोस् अरे तपाईंकी बुहारीले भनेको ।” “बुहारीले हिजै भनेकी थिइन् त्यही भएर त हो म अघि ठिक परिसकेको थिएँ । ” यति भन्दै धर्मानन्दले आफ्ना सामान बोके । आफूले दु:खगरेर बनाएको घर, कटेरो , गाईवस्तु , तुलसीको मोठ सबै हेरे । आजभन्दा बाह्रवर्ष अगाडि मरेकी श्रीमती सम्झिए ।
पितृभक्त अगाडि लागेर बाउलाई बाटो देखाउँदै थियो । बुढाको नाति पनि पछिपछि सकिनसकी जाँदै थियो । एउटा निकै ठूलो घर अगाडि पुगेर सानो नातिले बिस्तारै कनीकुथी पढ्यो का ल भै र व वृ र् ध गृ र् ह ।
यसो बाउतिर फर्केर ” भन्यो बाबा हाजुरबाको घर यही हो, यहाँ यस्तै बुढा मान्छेहरू मात्रै बस्छन् ?” बाउको जबाफ थियो “हो।” “त्यसो हो भने पछि हजुरबा जस्तै बूढो भएपछि यसैगरी हजुरलाई पनि मैले यहीँ ल्याउँने हो ?”





