
शुक्रराज कुँवर
बलभद्र पथ, धरान १० सुनसरी
“यत्रो भार यो पृथ्वीले कसरी सहन गर्छिन होला ?”
“किन र ? के भन्न खोजेको तिमीले ?”
पहाडको कुनै एउटा चौतारामा दुई साथीहरु गफिरहेका थिए। पहिलो साथीको जिज्ञासामा दोस्रो साथीले प्रतिप्रश्न गर्यो।
” हैन…! मैले भन्न खोजेको मानिसले पृथ्वीमाथि धेरै ज्यादती गरिसके। त्यत्रो भीमकाय नदीलाई थुनेर बाँध बाँध्ने काम भइरहेको छ । यो पृथ्वीलाई भार भएन र ? आफ्नो स्वार्थ सिद्धिका लागि मानिसले निर्माण गरेका अनगिन्ती भौतिक संरचनाहरु पृथ्वीका भार हुन् तैपनि पृथ्वी आफ्नो कक्षमा अनवरत घुमिरहेकी छिन्। यो भार थोपर्ने काम बन्द गरिएन भने कुनै दिन पृथ्वी ध्वस्त हुनेछिन् …!” पहिलो साथीले आफ्नो चिन्ता जाहेर गर्दै थियो।
त्यसैबेला एउटी महिला डोकोमा दाउराको भारी , त्यसमाथि घाँसको मुठो बोकेर तप्प तप्प पसिना काढ्दै आउँदै थिइन् । उनको छातीमा टाँसिएर उनको दूधमुखे बालक निदाइरहेको थियो।
दुबैजना उदेक मानेर हेरिरहे । दोस्रो साथीले पहिलो साथीलाई भन्यो, ” के बुझ्यौ ?”
“के बुझ्नु र ?” पहिलो साथीले उल्टै प्रश्न गर्यो।
दोस्रो साथीले बुझाउँदै भन्यो – ” तिमीले पृथ्वीको बारेमा धेरै चिन्ता जाहेर गर्यौ । पृथ्वी आमा हुन् । हेर , ती महिला कति ठूलो भारले दबिएकी छिन्। जतिसुकै ठूलो भारले किचिए पनि बोझ नमान्ने जातको नाम नै आमा हो।”





