“इच्छा”


मोहन प्रसाद घिमिरे
शान्तिनगर, सिद्धिचरण मार्ग, बानेश्वर

नीम्रपत्ता सँधै होओस् गुलियो स्वादको मिठो
जान्ने, बुझ्ने सबै होऊँ , हातमा नोटको बिटो ।
मानून् सर्वज्ञ झै सारा बढोस् दैनिक इज्जत
वृद्धता दूर होस् मेरो होओस् सम्मान सौकत ।।
बोलेक‍ो सबले सुन्दै वाह वाह भनून् सदा
गुणगान सबै गाऊन् मान्छेका बिचमा छँदा ।
प्रेममा प्रेमकै निम्ति प्रेमद्वारा वितून् दिन
सँधैँ उल्लासमा बाँचौँ मिलोस् आनन्दता लिन ।।
चिन्ताका दुखका छेस्का नघोचून् अङ्गअङ्गमा
चन्द्रमाको परोस् आभा अमाको कृष्ण रङ्गमा ।
जे गरेँ सब हून् राम्रा भागोस् नैराश्यता अरि
वाग्देवी ओष्ठमा होऊन् हियामा हुन् उनै हरि ।।
नछोउन् रोगका डाम्ना पुच्छले, चोँचले कुनै
पाखुरा दरिला होउन् नपरोस् भरमा हुनै ।
नभका चम्किला तारा पोल्टैमा टिप्न योग्य हूँ
ज्ञान विज्ञान साहित्य सजिलै खिप्न योग्य हूँ ।।
रसना रसिला होऊन् नघोचून् अन्य मानव
वैदूर्य चम्कने जस्तै मान्छे हो यो भनून् सब ।
भावका सलिला उर्ली पखालून् हियरा अब
कर्मैले भाग्य कोरौँ म होओस् दैन्दिन उत्सव ।।